झुसिल्किरा पुतली बन्ने
एक प्राकृतिक प्रकृया हुन्छ
जसलाई कायाकल्प भनिन्छ
यहाँ त पुतली बदलिएर
झुसिल्किरा बन्ने अप्राकृतिक होडबाजी छ
र यसलाई राजनीति भनिन्छ ।
ती झुसिल्किराहरूलाई
नेता भनिन्छ
सरकार भनिन्छ ।
हामीले चुनेर पठाएका झुसिल्किराले
हाम्रो दुख बोलिदिने संसद्
हाम्रो भएन
सिंहदरबार हाम्रो भएन
केवल सडक रहेछ हाम्रो
हामी सडकमा उत्रिएका छौँ ।
हिजो प्रजातन्त्रको पक्षमा उत्रिएका थियौँ यही सडकमा
हिजो लोकतन्त्रको पक्षमा उत्रिएका थियौँ यही सडकमा
हिजो गणतन्त्रको पक्षमा उत्रिएका थियौँ यही सडकमा
हाम्रा प्रियजन पुतलीहरूले खुन बगाए र प्रजातन्त्र आयो
हाम्रा सन्तान पुतलीहरूले ज्यान गुमाए र लोकतन्त्र आयो
हाम्रा आफन्त पुतलीहरूले प्राणको आहुति दिए र गणतन्त्र आयो
तर गणतन्त्रको यही कलिलो रुखमा
यो कस्तो ऐजेरु पलाइरहेछ ?
सदाचारको वृक्षमा
किन भ्रष्टाचार पलाइरहेछ ?
आज भ्रष्टाचारको विरुद्धमा उत्रिएका छौँ
यही सडकमा ।
हामी जनावरको पनि तस्करी विरुद्ध लडिरहेछौ
सिंहदरबार मानव तस्करी गर्छ
हामी नक्कली शासनविरुद्ध आवाज उठाइरहेछौँ
मन्त्री नक्कली शरणार्थी थपिदिन्छ
पुतलीबाट बदलिएको यो कस्तो झुसिल्किरा हो ?
जो भूकम्प पीडितहरूको जस्ता पाता खान्छ
सिसिटिभी क्यामेरा खान्छ
बालुवाटारको बालुवा खान्छ ।
हामी पुतलीहरू बेचिन्छौ
र बालुवा निचोरेर खाडी खान्छौ, अरब खान्छौँ
तिमी झुसिल्किराहरू हामीलाई बेच्छौ
र हाम्रा पङ्खा निचोरेर खरब खान्छौ !
तर झुसिल्किराहरू
यति याद राख्नु
हामीले एकेक हिसाब राखेका छौँ तिमीहरूको
कसरी यो अप्राकृतिक कायाकल्प
सुत्केरीको दबाई खाने पुरुष बन्छ ?
किन हाम्रो संसद्
जहाज खाने गोबर किरा बन्छ ?
हामी संसद्मा विश्वास गर्ने पुतलीहरू
हामी लोकतन्त्र र गणतन्त्रमा आस्था राख्ने पुतलीहरू
तिमीहरूलाई लाग्छ
कि सत्य डाइनोसर जस्तै लोप हुन्छ ?
ए, नयाँ प्रजातिका झुसिल्किराहरू !
भ्रमको कोकुनबाट बाहिर निस्क
र हेर अब
डायनोसरभन्दा पनि अगाडीदेखि नै
हामी पुतलीहरू
अस्तित्वमा थियौँ यस धरतीमा
र सदा रहनेछौँ
किनभने हामीले सत्यको छनौटसँग समायोजन गरेर
बाँच्न सिकेका छौँ ।
बरु शङ्का गर आफ्नो अस्तित्वप्रति
कि तिमीहरू छिट्टै डायनोसर बन्नेछौ
जो सत्य खान खोजिरहेछौ ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०, १८:२६