काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ परेका छन् । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
नेता रिजाललाई काठमाडौबाटै पक्राउ गरिएको हो ।
मियालाई भने सिंहदरबार परिसरबाट पक्राउ गरिएको काठमाडाैँ प्रहरी परिसरले जनाएको छ ।
भुटानी शरणार्थीको अधिकारका लागि लड्दै आएका रिजाल पुनर्वास कार्यक्रममा सहभागी नभई भुटानी शरणार्थीलाई स्वदेश नै फर्काउनुपर्ने माग गर्दै आएका थिए ।
यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १६ पुगेको छ । यो प्रकरणमा पूर्व मन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझी, उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित पक्राउ परेका छन् । पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक र इन्द्रजितका छोरा निरज राईमाथि पक्राउ पूर्जी जारी गरिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै गिरोहले प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म लिएको पाइएको प्रहरीको दाबी छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०, १८:५८