धनकुटा । सुविधा र रोजगारीका लागि बसाइ सर्नेक्रम बढेपछि पहाडी र हिमाली गाउँहरू रित्तिन थालेका छन् । २०२० सालपछि तराई झर्नेक्रम सुरु भएको पूर्वी पहाडका गाउँहरूमा अहिले घर छन्, मान्छे छैनन् । कतै घर पनि देखिदैन ।
धनकुटामा यस्ता गाउँ पनि भेटिन्छन्, जहाँ कुनै समय बाक्लो बस्ती थियो । दस वर्ष अघिसम्म ७० भन्दा बढी घरपरिवारको बसोबास थियो । अहिले जम्मा ९ घर मात्र बाँकी छन् । तेह्रथुमको आङ्गदिममा बसाइसराइका कारण रित्तिएको छ ।
त्यहाँबाट हिँडेका सबै परिवार तराईका झापा, मोरङ्ग र सुनसरी पुगेका छन् । दस वर्षको जिल्लागत जनसङ्ख्या हेर्दा हिमाली र पहाडी जिल्लाको जनसङ्ख्या घट्दै छ भने तराईमा बढदो क्रममा छ । तराई झर्न नसक्नेहरू गाउँबाट पहाडकै बजारमा सर्ने गरेको स्थानीय घनेन्द्र न्यौपाने र टीकाप्रसाद घिमिरेले बताउनुभयो ।
बसाइँसराइ रोक्न स्थानीय सरकारहरूले नयाँ योजना बनाउन थालेका छन् । तर शिक्षा, स्वास्थ्य, रोजगारीसँगै सुविधा बढ्न नसक्दा गाउँ छाडेर तराई झर्ने र सहर पस्नेहरूको कमि भएको छैन ।
हिमाल र पहाडी क्षेत्रको जनसङ्ख्या यही रफ्तारमा घट्ने अनि तराइको जनसङ्ख्या त्यही अनुसार बढ्ने हो भने खेतीयोग्य ऊर्वर जमिनमा बस्ती देखिनेछ । त्यसले खाद्यान्नमा आत्मनिर्भर बन्ने सरकारको योजनालाई चुनौती दिएको छ ।
छथरजोरपाटी गाउँपालिका धनकुटाका अध्यक्ष शेरबहादुर लिम्बु स्थानीय सरकारले मात्रै नागरिकको आवश्यकता पूरा गर्न नसकेको बताउनुहुन्छ । केन्द्र सरकारले पनि बसाइँसराइ रोक्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने उहाँको विचार रहेको छ । पहाडका खेतीयोग्य भू–भाग बाँझै छन् ।
त्यहाँ जङ्गल झाँगिदैछन् तर तराइको उर्वर जमिन भने घरघडेरीमा बदलिदैछ । जसले मानिसको जीवनचत्रका लागि चुनौती थपिदिएको धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक किरण घिमिरेको टिप्पणी छ ।
हिमाल र पहाडी क्षेत्रको जनसङ्ख्या यही रफ्तारमा घट्ने अनि तराइको जनसङ्ख्या त्यही अनुसार बढ्ने हो भने खेतीयोग्य ऊर्वर जमिनमा बस्ती देखिनेछ । त्यसले खाद्यान्नमा आत्मनिर्भर बन्ने सरकारको योजनालाई चुनौती दिएको छ । गाउँमा सडक बनाउने, कृषि क्षेत्र, भौतिक पूर्वाधार जस्ता विकासका गतिविधिमा असर गरेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६, १४:३७