काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको सहभागिताबिनै सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेतालाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।
नेपाली काँग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा माओवादी केन्द्रबाट झपट साउँदले सामाजिक विकास मन्त्रालय र रमेश धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
माओवादीका गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्नुभएको छ ।
२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त शाहले भोलिपल्टै काँग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।
त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । सुदूरपश्चिम प्रदेश सरकारमा अब कृषि मन्त्रालयल खाली छ ।
नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएन । पार्टीले नाम नदिएका कारण नागरिक उन्मुक्ति पार्टी आज सहभागी नभएको मुख्य मन्त्री शाहले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०, १७:२२