काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनमा आजदेखि सरकारको नीति तथा कार्यक्रम बारेको छलफल सुरू हुँदैछ ।
बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा अस्ति शुक्रबार संसद्मा प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम छलफलको लागि प्रधानमन्त्री प्रचण्डले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रिय सभा बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
दुवै सदनमा आउँदो बुधवार १० गतेसम्म छलफल गरेर ११ गते नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यतालिका रहेको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो ।
नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०, ०९:१८