काठमाडौँ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीले आज तीन जना मन्त्री थप गर्नुभएको हो । थपिएका मन्त्रीमा काँग्रेस, जसपा र जनमतबाट एक एक जना छन् । यससँगै अब लुम्बिनी मन्त्रीपरिषद् सात सदस्यीय बनेको छ ।
थपिएका मन्त्रीमा काँग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, जनमतका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री र जसपाबाट भण्डारीलाल अहिर कृषि मन्त्री बनेका छन् । त्यस्तै यसअघि नै मन्त्री नियुक्त भएका तर मन्त्रालय नतोकिएका नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको प्रदेश मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।
नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आजै बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ । लुम्बिनीमा अझै मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०, १३:०७