काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको पहिलो चरणको अनुसन्धान सम्पन्न गरेको छ ।
प्रहरी परिसर काठमाडौँले झन्डै दुई महिना लगाएर अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको हो ।
यो प्रकरणमा कम्तीमा ३३ जना संलग्न रहेको निष्कर्ष निकालिएको र उनीहरूमाथि मुद्दा दायर गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
३३ जनामध्ये १६ जना जिल्ला प्रहरीको हिरासतमा छन् भने १७ जना फरार रहेकोले उनीहरूको सुची समावेश गरिएको छ ।
उनीहरूमध्ये केहीलाई ठगी र सङ्गठित अपराधसहित केहीलाई किर्तेको मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । उनीहरूमध्ये केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागबाट पनि मुद्दा चलाउनु उचित हुने प्रहरीको निष्कर्ष छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना बाट कम्तीमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको प्रहरीले जनाएको छ ।
यो प्रकरणको अनुसन्धानको क्रममा प्रहरीले नेकपा एमालेका सचिव एवम् पूर्वउप प्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरज लगायतमाथि पक्राउ पुर्जी जारी गरिएको छ । तर उनीहरू पक्राउ परेका छैनन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थीका रुपमा अमेरिका पठाइदिने भन्दै करोडौँ रुपैयाँ लिइएको भन्दै परेको उजुरीमा प्रहरीले २ महिनादेखि अनुसन्धान गरिरहेको छ । पहिलो चरणको प्रतिवेदन बुझाइए पनि थप अनुसन्धान नरोकिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०, १४:३३