लतितलपुर । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो, रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जले प्रसारण सेवाको २६ औ वर्ष पूरा गरेको छ ।
२७ औँ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले रेडियो सगरमाथाले राजनैतिक व्यवस्था र सामाजिक अवस्था सुधार्न खेलिरहेको भूमिकाको प्रशंसा गर्नुभयो । दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक रेडियोका रूपमा स्थापित रेडियो सगरमाथाले आम नागरिकमा जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा समाजको आवश्यकता अनुसारका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
त्यसै गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले आफूले विद्यार्थी कालदेखि नै रेडियो सगरमाथा सुन्दै आइरहेको बताउनुभयो । रेडियोबाट प्रसारित कार्यक्रमबाट थप ज्ञानगुनका साथै सूचनामूलक सन्देश प्राप्त गर्न सकिने भएकाले यसको विश्वसनीयतामा शङ्का गर्नुपर्ने ठाउँ नरहेको उहाँको भनाइ छ । उहाँले बन्दै गरेको आमसञ्चार विधेयकमा सामुदायिक रेडियोका कुरा समेट्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले सञ्चार जगतका समस्या समाधानका लागि अभिभावकमय भूमिका खेल्न नसकेको गुनासो गर्नुभयो ।
वरिष्ठ पत्रकार भैरव रिसालले जस्तोसुकै परिस्थितिमा पनि रेडियो सगरमाथाले आफ्नो प्रसारण सेवालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
रेडियो सगरमाथाका स्टेसन म्यानेजर उर्वशी बस्न्यातले सामुदायिक रेडियोहरूलाई प्रविधिको विकाससँगै समय सापेक्ष ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विगत लामो समयदेखि सगरमाथा एफएमले वातावरण र दिगो विकासका सवालमा आफ्ना कार्यक्रम केन्द्रित गरिरहेको स्मरण गर्दै आगामी दिनमा अझै सशक्त ढङ्गले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चारीका समूहका अध्यक्ष विमला तुम्खेवा, सिआईएनका व्यवस्थापक दीपक आचार्यलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा रेडियो सगरमाथाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने १३ जनालाई सम्मान गरिएको थियो ।
रेडियो सगरमाथाले २०५२ सालबाटै परीक्षण प्रसारण सुरु गरे पनि २०५४ साल जेठ ९ गतेबाट बिधिवत रूपमा १०२ दशमलव ४ मेगाहर्जमा प्रसारण सुरु गरेको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०, १८:४८