काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले भुटानी शरणार्थी ठगी प्रकरणबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा आकस्मिक समय लिएर लामिछानेले यसबारे छानबिन गर्न सांसदले विशेष समिति बनाउनुपर्ने माग गर्नुभएको हो ।
‘यो प्रकरणमा कुनै राजनीतिक दल बाँकी छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस्। त्यति मात्र होइन राज्यका निकायहरूको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी र प्रमुखहरूका नाम आइरहेको छ। यो कुनै अँध्यारो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन। दिनको उज्यालोमा प्रधानमन्त्री निवास बालुवाटारमा, सिंहदरबारमा, मन्त्री क्वार्टरमा लेनदेन भएका विषय आएका छन्,’ उहाँले भन्नुभयो, ‘यहाँ मुछिएका मानिसहरू हेर्नुहोस् यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ?’
उहाँले विश्वासको वातावरण बन्द भएको पनि बताउनुभयो । नाम मुछिएका सबैबारे अनुसन्धान हुनुपर्ने र त्यसका लागि सरकार डराउन नहुने सभापति लामिछानेको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०, ११:४५