काठमाडाैँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम लिएको अभियोगमा ३० जना विरुद्ध मुद्दा दायर भएको छ ।
प्रहरी हिरासतमा रहेका १६ जना र फरार रहेका १४ जना गरी ३० जनाविरुद्ध आज जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडाैँका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिनुभयो ।
उनीहरू विरुद्ध २७ करोड ८१ लाख बिगोसहित २७ करोड ८१ लाख बिगोसहित ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी किर्ते र एकीकृत कसुरसहित ५ किसिमको अभियोग लगाइएको न्यौपानेले जानकारी दिनुभयो । साथै कतिपय अवस्थाको थप अनुसन्धान अनिवार्य देखिएकाले प्रक्रिया अघि बढाउनु भनी निर्देशन समेत दिइएको न्यौपानेले सीआईएनसँग बताउनुभयो ।
मुद्दा दायर गरिएकामा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, काँग्रेस नेता बालकृष्ण खाँण, पूर्व सभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत छन् ।
जसमध्ये खाँणलाई १ नम्बरको प्रतिवादी बनाइएको छ । नक्कली परिचयपत्र बनाउन सघाएकाले सरकारी लिखत किर्ते गरेको पुष्टि हुन आएको आरोप पत्रमा उल्लेख छ । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा ४३ वटा प्रमाण बुझाइएको छ ।
प्रहरीले करिब २ महिना लगाएर अनुसन्धान गरी रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०, १९:३१