काठमाडौँ । पहिलो पटक २०२३ साल मङ्सिर २५ गते रेडियो नेपालले किसानलाई लक्षित गरेर कृषि कार्यक्रम प्रसारण गर्यो । कार्यक्रमका प्रस्तोतामध्ये एक हुनुहुन्थ्यो लक्ष्मी भुसाल । कार्यक्रम त्यसताका यती लोकप्रिय बन्यो कि प्रस्तोता भुसालले कार्यक्रमबाटै ‘बुढी आमा’को परिचय बनाउनुभयो । खास गरी जेटीएसँग बुढी आमाको गनथनका रूपमा किसानलाई दिइने जानकारी र त्यसको अन्त्यमा आउने बुढी आमाले भन्ने 'हरि शरणम्' आज पनि श्रोताको मानसपटलमा ताजै छ।
खेती किसानीका समस्याबारे कृषि प्राविधिकले दिने सुझाव होस् वा कसरी खेती गर्ने भन्ने तरिका, किसानका लागि अति आवश्यक र महत्त्वपूर्ण जानकारी दिने काम यो कार्यक्रमले गरेको थियो ।
पर्वतका कृष्ण सापकोटा अझै पनि कृषि कार्यक्रमले त्यसताका किसानका लागि प्राविधिक र विज्ञकै काम गरेको सम्झनुहुन्छ । ‘त्यतिबेला सञ्चारको अरू माध्यम थिएन, रेडियो नेपाल निकै सुनिन्थ्यो ।’ सापकोटा भन्नुहुन्छ, ‘किसान भएकाले स्वभाविक रूपमै कृषि कार्यक्रम बढी सुनियो । कार्यक्रमले गाउँ गाउँमा प्राविधिक ज्ञान पुर्याउँथ्यो ।’
हिजो घरका भित्ता र दलिनमा झुन्डिएर रहने रेडियो अहिले श्रोताका हात हातमा पुगेका छन् । गाउँ गाउँमा सामुदायिक रेडियो खुलेका छन् । जसले बिस्कुनदेखि विश्वका कुरा सुनाउँछन् । किसानलाई खेतीपाती गर्न र रोगब्याधिमा औषधि मुलो खोजिदिन पनि रेडियोले सघाउन थालेका छन् ।
धादिङको मा खुलेको कृषि रेडियो पूर्णतया किसान र खेतीपातीकै विषयमा केन्द्रित रहेको रेडियोका संस्थापक म्यानेजर सरोज पाैडेल बताउनुहुन्छ । रेडियोले आफ्नो सम्पूर्ण समय कृषिकै विषयका सूचना र कार्यक्रममा केन्द्रित गरेपनि अझै सबै कुरा भनि नसकेको उहाँ बताउनुहुन्छ ।
पाल्पाको सामुदायिक रेडियो मदन पोखराले आठ वर्षदेखि किसान बोल्छ नामको कार्यक्रम चलाउँदै आएको छ । तानसेनका किसान तुलसी जिसीलाई खेतिपातीका समस्या हल गर्न अहिले रेडियो मदन पोखराले सघाउँछ । ‘बोटविरुवामा कस्तो रोगका लागि के औषधी गर्ने, विषादी कसरी छर्ने, खेती गर्दा केके कुरा ध्यान दिने भन्ने विषय रेडियोबाटै सिक्छौँ, खुसी लाग्छ ’ उहाँ भन्नुहुन्छ ।
समुदायका सवाल समुदायकै सहभागितामा उठाउने उद्देश्यले अहिले देशभर तीन सय ७२ वटा सामुदायिक रेडियो खुलेका छन् । धेरैजसोले कृषि कार्यक्रमलाई प्राथमिकताका साथ प्रसारण गरिरहेका छन् । व्यावसायिक ज्ञान र प्रविधिको पहुँच नभएका किसानलाई रेडियोले बाली लगाउने, हुर्काउने, भण्डारण गर्ने र बजारको खोजि गर्नेसम्मका काम गरिरहेका छन् ।
नवलपुरका किसान थानेश्वर कणेल पनि रेडियोले घरघरमै कृषि प्राविधिक पुर्याएको बताउनुहुन्छ । समुदायको सारथि बनेका रेडियोले खेती किसानीका कुरा कम र अन्य विषय बढी उठाउन थालेका हुन् कि भन्ने श्रोताको चिन्ता छ । काभ्रेका श्रोता सुस्मिता हायु सामुदायिक रेडियोले अब किसान र सरकारबिच पुलको काम गर्न सक्नुपर्ने बताउनुहुन्छ । ‘अब कृषिलाई कसरी उद्यम बनाउने, बजारको व्यवस्थापन कसरी गर्ने, सरकारको भूमिका के हुने भन्नेजस्ता कुरामा जोड दिएर कार्यक्रम प्रसारण गर्न सके रेडियोको प्रभाव अझै बढी हुन्छ’ उहाँले भन्नुभयो ।
किसानका कुरा पत्रपत्रिका र टेलिभिजनमा आक्कलझुक्कल मात्र अटाउँछन् । तर, कृषिको विकासका लागि वैज्ञानिक र आधुनिक खेती प्रणाली, बाली विविधीकरण, रोजगारी सिर्जना, बजारको खोजीजस्ता कृषिको विकासका विविध पक्षमा सामुदायिक रेडियो किसानका साथी बनिरहेका छन् ।