काठमाडाैँ । २०७९ सालको उत्तम शान्ति पुरस्कार डा. नवराज केसीद्वारा लिखित कृति 'शून्यको मूल्य' ले पाउने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रवार प्रेस विज्ञप्ति निकालेर 'शून्यको मूल्य' लाई पुरस्कृत गर्ने निर्णय भएको जनाएको हो । पुरस्कारको राशि १ लाख रुपैयाँ छ ।
पुस्तकमार्फत 'अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःख पीडा, साहस र सङ्घर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत' साहित्यकार डा. केसीलाई पुरस्कार दिने निर्णय गरेको गुठीले जनाएको छ ।
साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्म जयन्ती (जेठ १२) मा प्रदान गरिँदै आइएको छ ।
उपचारका क्रममा भेटिएका महिलाहरूको प्रेरणालाई मुख्य आधार बनाएर लेखिएको 'शून्यको मूल्य' कर्णालीको अवस्था चित्रण गरिएको छ । यो पुस्तक आमाहरूमा लगानी गर्न किन महत्त्वपूर्ण छ भन्ने मुख्य थिममा लेखिएको डा. केसीले बताउनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०, १६:५३