काठमाडाैँ । पूर्वीय दर्शन र पूर्वीय न्याय प्रणालीलाई आधार मानेर लेखिएको पुस्तक ‘न्याय: अवधारणा एक परिप्रेक्ष्य अनेक’ सार्वजनिक भएको छ ।
अधिवक्ता रवीन्द्र भट्टराईले लेखेको पुस्तक कायममुकायम प्रधान न्यायाधीस हरिकृष्ण कार्कीले विमोचन गर्नुभएको हो । पुस्तक विमोचन गर्दै उहाँले पुस्तक निकै पठनीय र सङ्ग्रहणीय भएको बताउनुभयो । पूर्वीय दर्शनबारे पश्चिमाले लेखेका पुस्तक र लेख पढ्ने गरिएको भन्दै उहाँले न्यायको पूर्वीय दर्शनको हामीले नै सोध गर्नु जरुरी रहेकोमा जोड दिनुभयो ।
महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले तर्क र प्रमाणबाट न्याय कसरी दिलाउन सकिन्छ भनेर पुस्तकमा स्पष्ट लेखिएको बताउनुभयो ।
पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता डा. युवराज सङ्ग्रौलाले समाज र न्यायको उत्थान गर्ने हो भने अनुसन्धान गर्नुपर्ने र पश्चिमी प्रयोग छाड्पर्ने बताउनुभयो। वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद मैनालीले न्याय दर्शनको विषयमा लेखिएको पुस्तक अत्यन्तै कम भएको र यो पुस्तक न्याय क्षेत्रकै लागि उपयोगी भएको बताउनुभयो। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुस्तक न्यायको विकास कसरी सुरुआत भयो भन्ने कुरा उल्लेख भएको र दशर्नमा आधारित पुस्तक भएकाले महत्वपूर्ण रहेको बताउनुभयो ।
पुस्तकका बौद्ध दर्शनका विशिष्ट ज्ञाता समीक्षक प्राडा कोशनाथ न्यौपानेले न्यायसूत्र दर्शनशास्त्रीय अध्ययनको मूल विषयमा पुस्तकले योगदान पुर्र्याएको टिप्पणी गर्नुभयो । यसबारे नागार्जुन तथा असङ्गजस्ता बौद्ध दार्शनिकले पनि गम्भीर शास्त्रार्थ गरेको बताउनुभयो । पुस्तकले त्यतातिरको ढोका खुला गरिदिएको भन्दैर त्यस पाटोमा अझै अध्ययन हुनुपर्ने बताउनुभयो ।
पुस्तकका लेखक अधिवक्ता रवीन्द्र भट्टराईले पूर्वमा गौतमीय, बौद्ध, जैन र मीमांसा चारै दर्शनमा न्यायको अवधारणा रहेकोमा अक्षपाद गौतमको न्यायसूत्रको प्रमाण, न्याय, तर्क तथा न्यायाङ्गको पुस्तकमा प्रस्तुति र विश्लेषण गरिएको बताउनुभयो । पुस्तक बुद्ध दर्शनबाट प्रभावित भएर लेखिएको जानकारी दिँदै पुस्तक पढेर सबै जनाको सरसल्लाह र सुझाव आफुले अपेक्षा गरेको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०, १७:०४