काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको चार दिने भारत भ्रमणको मिति घोषणा गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा हुन लागेको प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
जेठ १८ गते प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुहुनेछ ।
त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघको आयोजनामा नेपाल भारत व्यापार शिखर सम्मेलन हुनेछ । प्रधानमन्त्रीले यो कार्यक्रमलाई सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने तय भएको छ । प्रधानमन्त्रीले भ्रमणको तेस्रो दिन १९ जेठमा भारतको मध्य प्रदेशको उज्जैन र इन्दोरको भ्रमण गर्ने कार्यक्रम छ । उहाँले भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०, १२:३५