काठमाडाैँ। सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिइनु गलत भएको बताउनुभएको छ । देशमा सङ्घीय गणतन्त्र आएपछि पदमा पुगेका केही व्यक्तिले गरेका गैर कानुनी कामलाई लिएर सिङ्गो गणतन्त्रलाई नै बदनाम गराउने गरिएको प्रति असहमति जनाउँदै यस्तो काम हुनुपर्ने बताउनुभयो ।
सामुदायिक सूचना नेटवर्क सीआईएनको १५ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानुन अनुसार कारबाही गर्ने अवसर पनि गणतन्त्रमा रहेको भन्दै उनीहरूलाई कारबाही गर्न सबै एकै ठाउँ उभिनुपर्ने बताउनुभयो । गणतन्त्रको विकल्प गणतन्त्र मात्र रहेको भन्दै उहाँले गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्म दिन मनाएको जस्तो नभएको बताउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले सङ्घीय गणतन्त्रप्रति आम नागरिकको अपनत्व बढाउनका लागि सरकारले यस वर्ष तीन दिनसम्म गणतन्त्र दिवस भव्यताका साथ मनाउन लागेको बताउनुभयो । मन्त्री शर्माले प्रविधिको विकासलगायत कारणले रेडियो, टेलिभिजन र छापा माध्यम कै भविष्यप्रति संशय उत्पन्न हुने गरेको भन्दै उहाँले आम नागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामाग्री उत्पादन गर्न सके रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्य सधैँ उज्यालो रहेको बताउनुभयो ।
सामुदायिक रेडियोले समुदायका आवाज बनिरहेको स्मरण गर्दै उहाँले सत्य तथ्य सूचना भरपर्दो तरिकाले पुर्याउने कर्ममा थप अठोटका साथ लाग्न उहाँले आग्रह गर्नुभयो । सीआईएनले रेडियोबाट स्वास्थ्य समस्या, कानुन र सुशासनका सन्दर्भ, शिक्षा कृषि लगायत सबै विषयका नागरिकका चासो र प्रश्न समाधान गर्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा अझ बलियो गरी समुदायका सवाललाई उठाउन सुझाव पनि दिनुभयो ।
लक्षित समुदायले कानुनका कुरा थाहा पाउनै नसकेको भन्दै उहाँले रेडियोबाट कानुनका कुरा पनि सिकाउन आवश्यक रहेको बताउनुभयो । समयमा कर तिर्न नसक्दा बन्द भएका रेडियो बन्द भएकाले तिनलाई अब कसरी फेरि सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो । रेडियोको विकासका लागि सरकारले कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका अध्यक्ष अर्जुन गिरीले ग्रामीण तहमा रहेका रेडियो जोगाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले विपद्का बेला रेडियो समुदायको सबैभन्दा नजिकको साथी भए पनि सरकारका विभिन्न नीतिलगायत धेरै कारणले मारमा परिरहेको भन्दै सामुदायिक रेडियो बचाउन तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । भूकम्प लगायतका विपद्का बेलामा रेडियोले सचेतनाको काममा महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । विपद् खास गरी दुःखका बेलामा रेडियोले आम नागरिकको भरोसा बनेको स्मरण गर्दै उहाँले सामुदायिक रेडियोलाई सरकारले अझै पनि चाहेको जस्तो सहयोग नगरेको गुनासो गर्नुभयो । सीआईएनसँगै सामुदायिक रेडियोहरूलाई पनि ग्रामीण आवाज स्थापित गर्न सरकारका साथै सबै सरोकारवालाले साथ सहयोग गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले पछाडि रहेका व्यक्ति वा समुदायको कुरा बाहिर ल्याउँदा नै सुशासन कायम गर्न सकिने भन्दै लुकेका कुरा बाहिर ल्याउँदा सरकार जिम्मेवार बन्ने बताउनुभयो । उहाँले सरकार, संसद्, सरोकारवाला र सञ्चारलाई सँगै लिएर अघि बढ्न सके सामूहिक रूपमा सुशासन प्रवर्धन हुने बताउनुभयो । समुदाय स्तरमा समुदायकै आवाज पुर्याउन रेडियोले सहयोग गर्ने भएकाले संसद् र समिति मार्फत रेडियोका कुरा सरकारसम्म पुर्याउन सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सीआईएनले खास गरी दूर दराजको समुदायलाई सूचना र सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेकोमा धन्यवाद दिँदै आयोग र सीआईएनबिच सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अप्ठ्यारो बेलामा रेडियोबाट आउने सामग्री औषधिको रूपमा आउने भएकाले औषधि जोगाउन आवश्यक रहेको बताउनुभयो । सङ्कटको साथी रेडियो भएकाले यसको व्यवस्थापनमा जुट्न सबैसँग आग्रह गर्नुभयो । राज्य सबै क्षेत्रको अभिभावक हुनुपर्नेमा जोड दिँदै उहाँले रेडियोलाई दिगो रूपमा टिकाउन राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।
वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले छापाखाना वा सूचना सञ्चार माध्यमले पनि व्यक्तिको गोपनीयताको हकको ख्याल गर्दै सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय भाइरल हुने नाममा अनावश्यक सामग्री पनि प्रसारण र प्रकाशन हुने क्रम बढेको भन्दै व्यक्तिको गोपनीयताको ख्याल गर्न सुझाव दिनुभयो । उहाँले संस्थागत विकासको लागि एकजुट हुन आग्रह पनि गर्नुभयो ।
अकोराबका पूर्व अध्यक्ष मीनबहादुर शाहीले १९ वटा रेडियो आबद्ध भएर सुरु गरेको सीआईएन दक्षिण एसियाकै सबैभन्दा ठुलो रेडियो नेटवर्क बन्न सकेको र समुदायको आवाज मुखरित गर्न सफल भएकोमा प्रशंसा गर्दै पहरेदारको भूमिकामा सधैँ खटिइरहन सुझाव दिनुभयो ।
अकोराबका बरिष्ठ उपाध्यक्ष विष्णुदत्त अवस्थीले सामुदायिक रेडियोको दिगोपनाका लागि समुदायसँग सरोकार राख्ने सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयाे । सामुदायिक रेडियोको संरक्षणाका लागि तीनै तहका सरकारले विशेष पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सीआईएनको उपलब्धि र वार्षिक गतिविधि प्रस्तुत गर्दै सीआईएनका म्यानेजर दीपक आचार्यले भविष्यमा आइपर्ने सबै खाले चुनौतीको सामना गर्दै समुदायको सञ्चारको अधिकारका पक्षमा काम गर्ने बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०, १७:१४