काठमाडौँ । सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले ३ जना सहकर्मीहरुलाई पुरस्कृत गरेको छ ।
आफ्नो १५ औँ वर्ष प्रवेशको अवसरमा आज काठमाडौँमा आयोजित एक समारोहका बीच दाङको रेडियो मध्यपश्चिममा कार्यरत सुशीला ओली, जुम्लाको रेडियो खुला आकासमा कार्यरत मानबहादुर कुवँर र सीआईएनमा कार्यरत सुनिल राजभारतलाई पुरस्कार प्रदान गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालका अध्यक्ष अर्जुन गिरीले तीनै जनालाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्नुभएको हो ।
पुरस्कारको राशि १५ हजार रहेको छ ।
रिपोर्टिङको गुणस्तर, सक्रियता र निरन्तरताका आधारमा सीआईएनले आफ्नो स्थापना दिवसका अवसरमा बर्सेनि सामुदायिक रेडियोकर्मी पुरस्कृत गर्दै आएको छ ।
सीआईएनलाई सूचना र विज्ञतामार्फत सहयोग गर्ने वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, काठमाडौँ विश्वविद्यालयका सह-प्राध्यापक डा सुधांशु दाहाल, शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्मा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाशकुमार सन्जेल, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत तथा सूचना अधिकारी डा चन्द्र ढकाल, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर र राष्ट्रिय महिला आयोगका उपसचिव एव प्रवक्ता चमिला भट्टराईलाई सीआईएनले प्रशंसा–पत्रले सम्मान गरेको छ ।
उनीहरुलाई पनि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालका अध्यक्ष अर्जुन गिरीले सम्मानपत्र प्रदान गर्नुभएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०, १९:२५