काठमाडौँ । देशभरिका सामुदायिक रेडियोहरूको सञ्जाल, सामुदायिक सूचना नेटवर्क, (सीआईएन) आजदेखि १५ वर्ष प्रवेश गरेको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालद्वारा सञ्चालित सीआईएनको २०६६ साल जेठ १५ गत्ते उद्घाटन गरिएको थियो ।
केन्द्रको कुरा गाउँघरसम्म र गाउँबस्तीका समस्या केन्द्रसम्म सुनाउँदै समाधान खोज्ने उद्धेश्यले स्थापित सीआईएन हाल ३ सय ७० भन्दा धेरै सामुदायिक रेडियोहरूको सञ्जाल बनेको छ ।
बिहान ६ बजे र साँझ साढे ७ बजे समाचारमूलक कार्यक्रम साझा खबर र सातै दिन सूचनामूलक, सन्देशमूलक कार्यक्रम प्रसारण गर्दै आएको सीआईएनले सामुदायिक रेडियोकर्मीलाई एकै सञ्जालमा जोडेर क्षमता विकास, सामुदायिक रेडियोको हक अधिकार र सकारात्मक परिवर्तनका विषयवस्तुलाई प्राथमिकता साथ उठाउँदै आएको छ ।
हालसम्म ११ हजारभन्दा धेरै नागरिकका प्रश्नको जवाफ र समस्याको समाधान सीआईएनले ‘हेलो सीआईएन’ शृङ्खलामार्फत खोजिसकेको छ भने स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका आधारभूत आवश्यकता पूर्तिका लागि गरिएका रिपोर्टिङको दर्जनौँ प्रभाव देखिएका छन् ।
बालविवाह, दाइजो प्रथा, छाउपडीलगायतका परम्परागत हानिकारक परम्पराविरुद्ध पनि सीआईएनले बर्सेनि अभियान चलाउँदै आएको छ ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले ग्रामीण तहमा रहेका रेडियो जोगाउन आवश्यक रहेको बताउनुभएको छ ।
सीआईएनको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै उहाँले विपद्का बेला रेडियो समुदायको सबैभन्दा नजिकको साथी भए पनि सरकारका विभिन्न नीतिलगायत धेरै कारणले मारमा परिरहेको भन्दै सामुदायिक रेडियो बचाउन तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
स्थापना दिवसको अवसरमा तीन जना सामुदायिक रेडियोकर्मीलाई सीआईएनले उत्कृष्ट पत्रकार पुरस्कारबाट सम्मान गरेको छ ।
सीआईएनकर्मी सुनिल राजभारत, रेडियो खुला आकास जुम्लाका मानबहादुर कुँवर र रेडियो मध्यपश्चिम दाङका सुशीला ओलीलाई जनही १५ हजार पुरस्कारसहित सम्मान गरिएको हो ।
हिजो काठमाडौँमा आयोजित विशेष समारोहमा सूचना, जानकारी र विज्ञतामार्फत निरन्तर सहयोग गर्ने ७ जनालाई सम्मानसमेत गरिएको छ ।
वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा.चन्द्रकान्त ज्ञवाली, काठमाडौँ विश्वविद्यालयका सह–प्राध्यापक डा. सुधांशु दाहाल, शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्मा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाशकुमार सन्जेल, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत तथा सूचना अधिकारी डा.चन्द्र ढकाल मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर र राष्ट्रिय महिला आयोगका उपसचिव एवम् प्रवक्ता चमिला भट्टराईलाई पनि प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०, ०७:२५