काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरी कारागारमुक्त हुनु भएको छ ।
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका चौधरी जन्मकैदको सजायमध्ये ५ वर्ष कटाएर निस्कनु भएको छ ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी सजाय मिनाह गरेको पत्र कारागार व्यवस्था विभागले हिजो पठाएको र आज बिहान छुटेको डिल्लिबजार कारागारका प्रशासक रोमबहादुर महतले सीआईएनसँग बताउनुभयो ।
मन्त्रिपरिषद्ले हिजो बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।
२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलनको क्रममा भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक झडप भएको थियो ।
उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०, ०८:५०