काठमाडाैँ । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि महिला, अल्पसङ्ख्यक र पिछडिएको वर्गको अवस्थामा हुनुपर्ने जति सुधार हुन नसकेको बताउनुभएको छ ।
सामुदायिक सूचना नेटवर्क सीआईएनको १५ औँ स्थापना दिवसको अवसरमा सीआईएनको कार्यालय चाकुपाट ललितपुरमा आयोजित कार्यक्रममा उहाँले ठुलो राजनीतिक परिवर्तन भएर संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि त्यसयताको डेढ दशकमा महिलालगायत पिछडिएको र अल्पसङ्ख्यक क्षेत्र र वर्गको स्तरोन्नतिमा हुनुपर्ने जति काम हुन नसकेको बताउनुभएको हो । जसले गर्दा महिला, अल्पसङ्ख्यक र पिछडिएको वर्ग क्षेत्रका नागरिक अझै पनि जोखिमपूर्ण अवस्थामा रहेको, महिला हिंसामा पर्ने क्रम नरोकिएको र यसलाई नियन्त्रण गर्न गरिएका प्रयास पर्याप्त नभएको बताउनुभएको हो ।
अध्यक्ष पराजुलीले सरकारलाई यस विषयमा निरन्तर ध्यानाकर्षण गराए पनि कार्यान्वयन नभएको भन्दै उहाँले जिल्ला स्तरमा रहेको महिला तथा बालबालिका कार्यालयको संरचना भङ्ग गरेको र प्रदेश तहमा आयोगको कार्यालय स्थापना नगर्दा महिला बालबालिका थप समस्यामा रहेको पराजुलीको भनाइ थियो । समाजका कुरीतिका रूपमा रहेको बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, कुसंस्कार र कुरीतिको अन्त्यका लागि सीआईएनले पुर्याइरहेको योगदानको प्रशंसा गर्नुभयो । समुदायका चासो र चिन्ता सम्बोधन गर्दै समुदायको सञ्चारका लागि सीआईएनले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको अध्यक्ष पराजुलीले बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल फेकोफोनका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनका समस्या र मुद्दा उठाउन सामुदायिक रेडियोको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो । तर राज्यले सामुदायिक वन माथि समुदायको अधिकार खोसेको भन्दै प्राकृतिक स्रोतमा समुदायको अधिकार दिलाउन सामुदायिक रेडियोले निरन्तर खबरदारी गरेर सहयोग गर्नुपर्ने र यसका लागि सामुदायिक रेडियोसँग सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।
फेकोफोनका महासचिव पार्वता गौतमले सामुदायिक वन क्षेत्रका धेरै समस्या अझै ज्युँका त्युँ रहेको र सरकारले ती समस्या समाधान गर्न पहल नगरेको, सरकारले समुदाय स्तरमा काम गर्ने संस्थाको आवश्यकता र महत्त्व बुझ्नै नसकेको बताउनुभयो ।
मानव अधिकारकर्मी शोभाकर बुढाथोकीले कोरोना कालमा सबैभन्दा बढी जिम्मेवार सामुदायिक रेडियो नै बनेको स्मरण गर्नुहुँदै सही सूचना प्रदान गर्ने सामुदायिक रेडियो नै भएको बताउनुभयो ।
यूएनडीपीको पीएसपी परियोजनाका वेदप्रसाद ढकालले प्रविधिको विकाससँगै रेडियो सुन्न मात्रै नभई हेर्ने माध्यमको रूपमा पनि विकास भइरहेको बताउनुभयो । समुदाय स्तरमा सूचना, जानकारी र सन्देश पुर्याउन सामुदायिक रेडियोसँगको सहकार्य उपलब्धिमूलक रहेको अनुभव सुनाउनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका अध्यक्ष अर्जुन गिरीले सरकारले सामुदायिक संस्थाले पुर्याइरहेको योगदानको कदर गर्न नसकेको र समुदायका लागि रेडियो किन आवश्यक छ भन्ने बुझ्नै बाँकी रहेको बताउनुभयो । तीन तहका सरकारबिच समन्वय नहुँदा सामुदायिक रेडियोसहित अन्य सामुदायिक संस्थालाई समस्या भइरहेकाले यो अवस्था अन्त्य गर्न उहाँले आग्रह गर्नुभयो । सामाजिक रूपान्तरणका लागि सामुदायिक रेडियो प्रसारक सङ्घ र सामुदायिक सूचना नेटवर्क सीआईएन सरोकारवालासँग साझेदारी गर्दै अघि बढ्न तयार रहेको अध्यक्ष उहाँले बताउनुभयो ।
अकोराबका वरिष्ठ उपाध्यक्ष विष्णु अवस्थीले सामुदायिक रेडियोलाई राज्यले स्पष्ट पहिचान नदिएको र कर सङ्कलन गर्ने एउटा माध्यम मात्रै बनाएको भन्दै असन्तुष्टि जनाउनुभयो । यसका लागि सबै क्षेत्रका सामुदायिक संस्थाहरु अब मिलेर लड्नुपर्ने उहाँले बताउनुभयाे ।
अकोराबका प्रबन्ध निर्देशक वालकृष्ण पोखरेलले समुदायको साथीका रूपमा रहेका सामुदायिक रेडियोको दिगोपनाको पक्षमा सबै सरोकारवालको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०, १७:०८