रमेश क्षितिजका नयाँ कविता सङ्ग्रह 'पर्वत पर्वतमा बटुवा घाम' माथि विमर्श गरिएको छ । सिन्धुपाल्चोकको सुकुटे बिचमा शनिवार भएको विमर्शमा करिब ५० जना कवि तथा लेखकले क्षितिजका कविता र कविता-यात्रामाथि टिप्पणी गर्नुभयो ।
लेखक कुमार नगरकोटीले रमेश क्षितिजका कवितालाई अनुवाद गर्दा आफू चकित भएको बताउनुभयो । "कुनै समय कवि श्रवण मुकारुङमार्फत मैले क्षितिजका कविता अङ्ग्रेजी भाषामा अनुवाद गरेको थिएँ" नगरकोटीले भन्नुभयो, "मुकारुङले कविता थमाउँदा क्षितिजका कवितालाई खासै वास्ता गरेको थिइनँ तर जब भट्टीमा पसेर पढ्न थालेँ, मदिराले भन्दा बढी मात उनका कविताले लगाए ।"
समालोचक राजकुमार बानियाँले पुस्तकमाथि टिप्पणी गर्दै भने, "अहिलेका नेपाली कवितामा 'अ-कविता' हाबी भइरहेका बेला क्षितिजका कविताले नेपाली कविताको क्षेत्रमा युगीन अर्थ राख्छ । कवितामा खास कविता तत्त्व हराउँदै जाँदा नारालाई कविता मानेर पढिरहेका पाठकलाई यी कविता भिर माहुरीले बनाएको महजस्तै स्वास्थ्यवर्धक लाग्नेछन् ।"
लेखक बुद्धिसागरले कुनै समय उपन्यास लेख्न कथाको खाका बनाएका क्षितिज नेपाली कविताका अनन्त सर्जक रहेको टिप्पणी गर्नुभयो ।
पत्रकार तथा लेखक वसन्त बस्नेतले क्षितिजको कविता लेखनको विशेषता र समकालीन नेपाली कविताको बुनोट र बान्कीबारे संवाद गरेको कार्यक्रममा सङ्गीतकार एवम् गायक सन्तोष श्रेष्ठले क्षितिजका दुई वटा गीत गाउनुभएको थियो ।
यस्तै कवि ज्योति जङ्गल, हेम प्रभास, मणि लोहनी, बुद्धिसागर, यज्ञश, पवन आचार्य, रूपेश श्रेष्ठ, कुमार नगरकोटीलगायतले क्षितिजका कविता वाचन गरेका थिए । कार्यक्रममा बोल्दै कवि क्षितिजले आफूले गरिरहेको हृदय-यात्राको अर्को रूप कविता भएको उल्लेख गर्नुभयो ।
अर्को साँझ पर्खेर साँझमा, घर फर्किरहेको मानिस, आफैँ आफ्नो साथी भएँ (गीत सङ्ग्रह) पछि क्षितिजको यो कविता सङ्ग्रह प्रकाशन भएको हो ।
सङ्ग्रह बुक हिल पब्लिकेसनले बजारमा ल्याएको हो । ५२ वटा कविता रहेको कविता सङ्ग्रह (हार्ड कभर संस्करण) को मूल्य ४५५ रुपैयाँ राखिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०, १०:२१