काठमाडाैँ । सरकारले नयाँ बजेटमा नेपालका स्वतन्त्र रेडियोलाई संबोधन नगरेकोमा विरोध भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले हिजो प्रस्तुत गर्नुभएको बजेटमा स्वतन्त्र रेडियोलाई नसमेटेपछि स्वतन्त्र रेडियो प्रसारकहरूले गम्भीर ध्यानकर्षण भएको जनाएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब र ब्रोडकास्टीङ एशोसिएसन अफ नेपाल बानले बजेटमा सम्बोधन गर्नुपर्ने विषयसहित आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र अर्थ मन्त्री डा. प्रकाशशरण महतलाई छुट्टाछुट्टै भेटेर ध्यानकर्षण गराएका छन् ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले बजेटमा सम्बोधन गर्नुपर्ने विषयसहित लिखित रुपमा ध्यानाकर्षण गराइएको र सरकारले स्वतन्त्र रेडियोलाई बेवास्ता गरे आन्दोलन गर्नुको विकल्प नहुने चेतावनी दिइएको बताउनुभयो ।
अकोराबका अध्यक्ष अर्जुन गिरी र बानका अध्यक्ष कुमार भट्टराइले आजै संयुक्त विज्ञप्ती निकालेर आगामी आर्थिक वर्षको बजेटमा रेडियोहरूको नवीकरण तथा रोयल्टी शुल्कमा छुट गर्न, नवीकरण, करलगायतमा अन्य संस्थासरह नियमानुसार राजस्व तिरिरहेका स्वतन्त्र रेडियोबाट अव्यवहारिक रूपमा लिइँदै आइएको रोयल्टी मिनाहाको लागि नीतिगत व्यवस्था गरी दोहोरो–तेहेरो कर असुलीको अन्त्य गर्नुपर्ने लगायत माग गरिएको छ ।
भेटमा अर्थ मन्त्री डा. महत र सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०, १७:५८