काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयnले जनाएको हो ।
‘नागरिकता विधेयक प्रमाणीकरण गर्न २०८०।०२।१२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लेखी आएकोमा नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बमोजिम विधेयक प्रमाणीकरण गरेको छु,’ राष्ट्रपति पौडेलको भनाइ उल्लेख गर्दै कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अघिल्लो संसदले २ पटकसम्म पारित गरेर प्रमाणिकरणका लागि पठाए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि नागरिकता विधेयक राष्ट्रपति कार्यालयमै रोकिएको थियो ।
गत जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०, १२:४१