काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज भेटवार्ता हुँदै छ । चार दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबिच बिहान ११: ०५ बजे हैदरावाद हाउसमा भेटवार्ता हुने तय भएको हो ।
उहाँहरूबिच आधा घण्टा प्रतिनिधिहरू बिना एक्ला एक्लै छलफल गरेपछि प्रतिनिधिमण्डल स्तरीय छलफल गर्ने तयारी छ। प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीबिच नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गका बारेमा छलफल हुनेछ बताइएको छ।
भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण र दुई देशबिच सिलीगुडी चारआली पेट्रोलियम पाइप लाइन र टर्मिनल ट्याङ्क निर्माण तथा अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइन र स्टोरेज टर्मिनल ट्याङ्क निर्माणका बारेमा सहमति गर्ने तयारी छ ।
आजै केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना गरी दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसपछि ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखडसँग अपराह्न साढे चार बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ ।
साँझ साढे पाँच बजे नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ
तेस्रो दिन प्रधानमन्त्री प्रचण्डले मध्य प्रदेशको उज्जैन र इन्दोर जाने कार्यसूची छ। भ्रमणको चौथो दिन अपराह्न ४:२० बजे प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कनुहुनेछ ।
चार दिने भ्रमणका लागि बुधवार दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले बुधवार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०, ०९:२५