काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सात वटा सम्झौता भएका छन् । बिहीबार दुवै देशका प्रधानमन्त्रीसहित भएको प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता पछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । वार्तापछि प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी दिनुभएको हो ।
जसअनुसार नेपाल भारत पारवहन सम्झौता नवीकरण, सिमापार पेट्रोलियम पाइप लाइनलाई अमलेखगन्जबाट चितवनसम्म र सिलिगुडीबाट झापासम्म पुर्याउने सहमति भएको छ । त्यसै गरी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबिच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पीडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ ।
६६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाबारे भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) गर्ने सहमति भएको हो।
हवाई रुट विस्तार र पञ्चेश्वर बहुद्देश्यीय परियोजनामा महाकालीको पानी बाँडफाँटको विषयमा भने कुनै सहमति हुन सकेन । पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले यी विषयमा भारत सकारात्मक रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले पत्रकार सम्मेलनमा भन्नुभयो- 'नेपालले थप एयर रुटका लागि पनि आग्रह गरेको थियो । एटीआर विमानका लागि द्विपक्षीय फ्लाइटका लागि भारतले दिएको सकारात्मक सङ्केतलाई नेपालले स्वागत गरेको छ ।'
संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले दुवै देश आफ्नो सम्बन्धलाई हिमाल जतिकै उचाइ दिन काम गरिरहने र सीमासहित सबै विषय समाधान गर्ने बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०, १५:१२