प्रायः साठी वर्ष काटेपछि मानिसका उमेर समूहलाई धेरैले पाका मान्छे भन्दछन् भने कतिपयले समाजका मान र आदर गर्नुपर्ने भनेर सम्मान गरेको सुनिन्छ । अनुभवी र अग्रज मानेर कतिपय बेला ‘जेठा बाठा’ र ‘मान्यजन’ भनेर विशेष हैसियतमा राख्ने गरिन्छ । पुरुष प्रधान समाजको छनक दिँदै ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ भनी पाका मान्छेको अनुभवको कदर गर्ने उखान पनि पाइन्छ । कोही ‘बुढाबुढी’, ‘बुढाखाडा’ भनी नाक खुम्च्याउनेहरू पनि छन् कोही चाहिँ सम्मान गरेको भन्दै ‘ज्येष्ठ नागरिक’ भन्छन् । समाज विकास क्रममा हरेक नयाँ युग प्रगतिशील भनिए र पाका मान्छेले त्यही अनुसार मान, भाउ र स्थान रह्यो । अनुभव र जुक्तिका आधारमा सिकारी युग, कृषि युग र उदाउँदो पुँजीवादी युगमा पाका मान्छे निर्णयात्मक तहमा नै रहेको पाइन्छ । त्यसैअनुसार घरपरिवार र समाजमा इज्जतको अवस्था रह्यो ।
पाका मान्छेको हकमा सबैभन्दा कन्तबिजोक हुने अवस्थामा पछिल्लो पुँजीवादी युग नै रह्यो । यस युगमा हरेक काम कुरा र सम्बन्धलाई नाफा नोक्सानमा आधारित बनाउने प्रवृत्ति प्रबल हुँदै जाँदा आफन्त पनि ‘धन खतिका बाटा’ अनुभूत गरिन थाले । त्यसपछि पाका मान्छे ‘पराश्रित, निष्क्रिय र पारिवारिक बोझ’ जस्तो रूपमा चित्रित हुँदै गए । व्यवहारमा पनि पाका मान्छेलाई तेतव्य (तेस्रो तहको व्यक्तित्व) त हुन नि भनी, सोधिरहन नपर्ने, नसक्ने, बसी बसी खाने आदि चित्रण गर्दै अवहेलना र एक बचन पुछ्न छोडेको अवस्था रह्यो । के मानिसले मानिसलाई त्यस्तो गर्न मिल्ला र ? किन आफैँलाई हुर्काई बढाई गर्ने प्रिय र आदरणीय अग्रजलाई हेलाँ होचो गर्ने प्रवृत्ति आयो ? के मानिस उमेर, बल, पद, प्रतिष्ठाले अजम्मरी बन्न सक्छ र ? मानिस त जन्मेपछि एक पटक मर्छ र यो नै उसको सबै घमन्ड र आयस्ता भोगको अन्त्य हो । हिजो आज त नजिकका नाता भन्ने पनि सामाजिक सञ्जालमा नेपालीलाई बेअर्थको रिप (आरआईपी) लेखेर बढीमा एक हप्ता दुखेसो पोखेको स्वाङ पार्छन्, बस हरायो ! बाँकी केही वर्ष उसका सुकीर्ति र दुष्कीर्तिको रहलपहल सा¥है हित्तचित्त मिल्ने बिच रहला अरुको त त्यस्तै हो ।
ओझेलका कुरा:
अनुभव, ज्ञान र तत्कालीन सिपले युक्त हरेक पाका मान्छेको उपस्थिति, बदली चिसा दिनमा सूर्यप्रकाश हो भने बाटो बिराएर भौँतारिएका बटुवाका लागि रातमा देखिने उज्याला जुन हुन । धीरताको सीमा, जुक्तिका स्रोत र सहने क्षमता पाका मान्छेबाट सिक्नु वाञ्छनीय छ । घरपरिवार र समाजको प्रगति भनेको नै हरेक उमेर समूहको ज्ञान र बर्कतको निरन्तर हातेमालो र समन्वय हो । जीवविज्ञानले भन्छ: जटिल जीवहरूको विकासमा प्रकृतिकै विकासलाई पच्छ्याउने क्रम रहन्छ, अर्थात् संसारका सबै मसिना, साना, मझौला, भीमकाय जीवदेखि मानिससम्म एक कोषीयबाट नै विकसित भई बहुकोषीय भएका हुन्छन् । के मानिस आफैँमा जन्मेदेखि पाको उमेरसम्ममा यो प्रवृत्ति र प्रणाली क्रमैसँग घटेको हुँदैन र ? हुन्छ नि, एक फेर आफ्नै जीवन र उमेर अनुसार गतिविधि हेर्नुहोस् त् ।
मानिस जन्मनासाथ बनैया प्राणीजस्तो बच्चा आफैँ आमाको दुध चुस्न, पछिपछि हिँड्न, पौडी खेल्न र दौडन सक्छ त ? सबैका घरमा आमा बा र अभिभावक बनेकाले गर्न सघाउने र हेरविचार गर्ने गर्छन् । बच्चाको खाना, नाना, बास, सुरक्षा र आवश्यक ओखतीमूलक प्रबन्ध सबै घरका जिम्मेवारले गर्छन् । अनि पाको उमेरमा तिनै संरक्षक पुगेपछि वयस्क भएका ती हिजोका बालबालिकाले केही गर्नु पर्दैन त ? के आफूलाई अहिलेको उमेरसम्म हेरविचार गरी सुख सुबिधा सकेको सञ्चय गरी समाजमा हैसियत कायम गर्नेप्रति कुनै कर्तव्य हुँदैन ? विकसित नहुँदा अक्षम अवस्थामा हेर्नेलाई उहाँहरू नै शारीरिक मानसिक रूपले कमजोर र उमेर बढेर केही गर्न नसक्ने हुँदा बालबालिकालाई जस्तै नगरेर हेरिछाड्न मिल्छ ? मानिसमा आउने पाको उमेर जन्मिएका भर्खरका केटाकेटीजस्तै सरसहयोग चाहिने उमेर होइन र ? के मानव जीवनले जीवविज्ञानले भने झैँ उमेरको विकासलाई पछ्याइरहेको छैन र ? पाको उमेरले गतिविधि, चाहना, डर सुरक्षामा बालबालिकाकै चक्र समातेकै छ । अनि पाका मान्छेलाई त्यस्तै माया, स्नेह र रेखदेख सक्नेले गर्नुपर्दैन त ?
पाका वन्यजन्तुले आपत बिपतमा आफ्नो समूहलाई जोगाउन अनुभवका आधारमा धेरै तरीकाबाट बाटो देखाउँछन् । जङ्गलमा खानेपानीको अनिकाल र आफ्नो बास वरपर अभाव हुँदा आफ्नो बाल्यकालदेखिको संस्मरणमा आफ्नो समूहलाई पउल हुने ठाउँतिर लैजान्छन् । आफ्ना अनुभवमा अहित गर्ने अरू वन्यजन्तु देखे, गन्ध आए समूहका अरू सदस्यलाई सतर्क बनाउन सकेको आवाज निकालेर जानकारी दिन्छन् । समूहलाई वासस्थानमा जीविका गर्न अप्ठेरो भई बसाइसराइ गर्न लागेमा पाका सदस्य अघि लाग्छन् । जीव वैज्ञानिकको भनाइमा विविध ठाउँबारे जानकारी भएका पाका सदस्यले बाटो देखाउन जान्दछन् र शत्रु नै आइलागे आफ्नो ज्यान दिएर भए पनि समूहको रक्षा गर्नु कर्तव्य ठानेर त्यसो गरिएको हो । खाने कुरा पाउँदा पाका सदस्यले केटाकेटी र समूहका जिम्मेवारलाई छोडेर आफ्नो समूहको हितमा बचेको कम खाएर चित्त बुझाउँछन् । पाका सदस्यहरू धेरै भएमा आपसमा स्नेह गर्दै एकै ठाउँ झुम्मिन्छन् र सकेको सहयोग गर्छन् । समूह खान, खेल्न र सुत्न व्यस्त हुँदा परचक्रिबाट सदस्यहरूको रखवारी गर्न सतर्क भइरहन्छन् । धेरै चलखेल गर्न नसक्ने भएमा अरू सदस्य नजिक गई जीउ कन्याइदिने, चाटेर माया देखाउने र शरीरका फोहोर मैला हटाई दिने काम गर्छन् । यसरी समूहमा रहने जीवमा पनि पाका सदस्यको उचित हेरविचार भएको हुन्छ भने पाकाले पनि सक्दो सामूहिक हितमा काम गरिरहेकै हुन्छन् ।
मानिसमा पनि कतिपय घर र समाजमा पाका मान्छेलाई सामाजिक मार्गदर्शकको रूपमा आदर र माया गरिरहेको देखिन्छ । त्यसैले त पहिलादेखि गाउँ ठाउँका गन्यमान्यका भनाई मान्नुपर्छ भनेर पाका मान्छेका समूहको निर्णयलाई ‘पञ्च भलाद्मी’ भनी न्याय निसाफमा पनि अघि सारिएको होला । समाज व्यवस्थाअनुसार पाका मान्छेप्रति गरिएको आदर स्वरूप हरेक काममा भनाई सुन्ने, गुन्ने र मान्ने व्यवहार प्रचलित मात्र रहेन शारीरिक अवस्था हेरी माया गरेर आफैँ अघि सरी सहयोग गर्ने परम्परा रह्यो । यसअघिको युगमा अनाथ भएका वा जायजेथा नभई निसन्तान मात्र ‘धर्म हुन्छ भनी मन्दिर वरपर दाताले व्यवस्था गरेका सदाबर्ते हण्डी खान’ जान्थे । अरूहरू त आफ्नै कमाई उपभोग गरिरहेका प्रिय सन्तानको थप चकचकीमा जाडाका पारिला घाम तापेर र गर्मीमा हावा लाग्ने पिँढी वा चौतारामा बसेर अर्ति उपदेश व्याख्यान गरिरहेका हुन्थे । आफ्नो उमेर सुहाउँदाको गफिने ठाउँ र छोराछोरीको उन्नति प्रगतिमा बखान छाँटेन डबली त्यस्तै हुन्थे । सहर बजारतिर भजन कीर्तनलाई बनेका लाम्पाटी र बहाल घरको नियमित काम पछि प्राय पाका मान्छे जम्मा हुने जमघट थलो बनेको पाइन्थ्यो । अहिले त कस्तो विकासे धारणा आयो, पहुँचवालाले सार्वजनिक जग्गा, ठाउँ र स्थल देख्यो कि ‘पैसो आउँछ’ भन्दै खोकिलामा पारेका छन् ।
भोग्न बाध्य:
अहिलेको जस्तो भावनात्मक सम्बन्ध र माया हराएर पैसाको तुजुकमा वृद्धाश्रम र हेरविचार केन्द्रमा पाका मान्छे लखेट्ने चलन, पैसा र सम्बन्धमा नाफा नोक्सानको चस्को बसेपछि सुरु भएको देखिन्छ । आर्थिक रुपले सक्षम र कामकाजी परिवारले पनि दशौँ हजार खर्च गरेर त्यस्ता केन्द्रमा राख्नुभन्दा केही हजारमा हेरालु घरमै राखे हुने नि ! घरमा नै आफ्नै रेखदेखमा राख्नुपर्ने होइन र ? घर र समाजका सबैभन्दा अनुभवी, धेरै ज्ञानगुन भएका पाका मान्छेलाई निष्क्रिय र हेलाँ होचो गर्नु भनेको ज्ञानलाई लत्त्याउनु होइन र ? के अनुभव र ज्ञानविहीन समाजमा चाहिने ढाडस, मार्गदर्शन आकाशबाट फुत्त झर्छ र ? के कम अनुभवी र सिक्दै रहेका उमेर समूहका भरमा समाज उत्पात प्रगतिमा लम्की रहला र ? बनैया जन्तुको जति पनि विवेक नराखेर मानव प्रजाति कता ओरालो लागेको होला ? सामान्य मात्र होइन, हिजो आज पाका मान्छेले भोग्न बाध्य भएका थुप्रै अमानवीय घटना र व्यवहार नेपाली समाजमा पनि लाज पचेका, निष्ठुरी आफन्तले गरेको दुर्व्यवहार सतहमा आएका छन् ।
पाको हुने उमेर भनेको वास्तवमा हरेक समाजमा रहेका मानिसको औसत आयु नजिक वा नाघेका मान्छे भनी बुझिन्छ । सबै मानव समुदायमा पाका मान्छेको किटानी उमेर भनेर उस्तै वर्षलाई नभन्न सकिन्छ । नेपालमा ६० वर्ष नाघेपछि ज्येष्ठ नागरिक ‘उपाधि’ चाहिँ दिने तर सरोकारवालाले दिनुपर्ने सहयोग ६८ वर्ष पछि दिने ‘गजबको व्यवहार’ मञ्चन भएको छ । यस्तो गरिनुपर्ने आधार के होला ? किन होला ? के सबै सक्षम, अक्षम निवृत्तिभरण पाउने नपाउनेले एकै सदाबर्ते उपाधिबाट समाजमा बाँकी जीवन सुखमय बनाउन सक्लान् त ? घर व्यवहारदेखि पैसा कमाउने केन्द्रमा थुपारिएका पाका मान्छेलाई कतिको आनन्द होला ? उहाँहरूको इज्जतिलो समय होला वा दुर्व्यवहार पनि खप्न बाध्य भएका हुनुहोला ? विश्वव्यापीकरण पाका मान्छेका दुर्व्यवहार विरुद्ध नीति नियम र कानुन बने पनि अझै समाजमा दुर्व्यवहार गरिएका घटना छ्यालब्याल छन् ।
नकार्ने दुर्व्यवहार: पाका मान्छेलाई घरायसी वा सामाजिक काममा नगन्नु, नपुछ्नु र बेवास्ता गर्नु नकार्ने व्यवहार हो । चलिरहेको व्यवहार हेर्दा यस्तो लाग्छ पाका मान्छे ‘उल्लेख गर्नुपर्ने, सम्झिनुपर्ने उमेर समूह नै होइन’ र मानव समाजमा केही अस्तित्व नै छैन । यस व्यवहारको सुरुका लक्षणहरू मध्ये घर व्यवहारमा विभिन्न सल्लाहमा निर्णय अघि ‘एक पटक सोध्न समेत’ वास्ता नगर्नु भने सामाजिक क्रियाकलापमा ‘निम्तालु’मा नपर्नु हुन सक्छन् । यस्तै क्रम रहेमा पाका मान्छे हाम्रो वरपर छन् वा छैनन् भन्ने पनि हेक्का नहुन सक्छ । यस मनोविज्ञानले नेपाली समाजका ३० प्रतिशतभन्दा बढी हैसियत अँगाल्ने पाका मान्छेलाई न्याय होला त ? जानी नजानी पाका मान्छेलाई सभा समारोहमा ननिम्त्याउनु, विभिन्न सञ्चार माध्यमका कार्यक्रममा सहभागी नगराउनु, सार्वजनिक हितका काममा सरिक नगराउनु नकार्नु नै होइन त ? सहभागी करबल गराए पनि अमुक पाका मान्छेको शारीरिक अवस्थासँग तादात्म्य मिल्ने वातावरण नबनाउनु पनि नकार्नु नै हो नि ।
सामान्य मनोविज्ञानमा पर्ने बाधाहरू विभिन्न तुजुकले उमेर समूहअनुसार सम्बोधन नगर्नु, लाज भाँड बोल्नु र हियाएर बोल्नु पनि दुर्व्यवहार नै हो । पाका मान्छेको अवस्था हेरेर जिम्मेवार परिवार सदस्य, धरालो र निकायले सक्ने हुँदाहुँदै उहाँहरूलाई हानीनोक्सानी हुनबाट बचाउन कोसिस नगर्नु पनि नकार्नु हो । फाप अफाप बिचारेर खाना, पानी, लुगाफाटो, आवास, स्वास्थ्य, सफाइ, सुरक्षा, आदि कुरामा ख्याल नगर्नु पनि पाका मान्छेलाई नकार्ने व्यवहारमा पर्छ । ‘जहान घरमा कहिलेकाहीँ यस्तै हो ! वा हेरविचार गर्नेको पनि ज्यान हो नि !’ भन्दै गल्ती भएकोमा सामान्य हेर बिचारमा समेत सहुलियत खोज्नु नकारेको होइन र ? अचेल आधुनिक कहलाउने नाममा गल्लीका छोडुवा कुकुरलाई त हेलाँ होचो गरी नोक्सानी गर्न पाइन्न भनेर कुरा उठाउनेले, के पाका मान्छे मानव समाजका अतिरिक्त बोझ हुन र गल्लीका कुकुर जति पनि होइनन् ? भनी दिनुपर्यो नि ठाउँको ठाउँ । हेक्का नभएको भए आफ्ना व्यवहार सच्च्याउनु राम्रो होला कि !
भावनात्मक र मनोवैज्ञानिक दुर्व्यवहार: बोली बचन वा सङ्केतले पाका मान्छेको चित्त काटिने हुनु, मानसिक आघातले आँखा रसाउनु, निःसहायजस्तो पिल्पिल गर्ने हुनु, अति डराउनु, ज्यादै निराश हुनु भावनात्मक हिसाबले दुर्व्यवहार भोगिरहेको लक्षण हुन् । पाका मान्छेलाई सादर नामले बोलाउनुको साटो बिगारेर उपनामले बोलाउनु वा गिल्ला गर्नु, खानपिन र औषधोपचारमा भनेको नमाने उल्टापाल्टा गर्ने धम्कि दिनु यसै श्रेणीमा पर्छ । ‘गनगन गर्छन्, गुनासो गरिरहन्छन्, अराइपराई गरिरहन्छन्’ भन्ने नाममा पुनर्जीवन केन्द्र, स्वास्थ्य केन्द्र र वृद्धाश्रमतिर पठाउने कुरा गर्नु पनि मनोवैज्ञानिक दुर्व्यवहार नै हो । साथीभाइ, इष्टमित्र र घर आफन्तबाट मात्र होइन सञ्चार, हिँडडुल, सम्पत्ति र अरू स्रोतबाट विमुख गराउनु भावनात्मक हिसाबले निस्तेज गराउन खोज्नु हो । बलियो बाङ्गो र पहुँचवालको घमन्डले ‘बुढाबुढी, बुढाखाडा, डुब्न लागेका, पिण्ड खाने बेलाका, यसरी पनि के बाँच्नु, मरे हुने नि, मरे सुख पाउँछन्’ भनी नकारात्मक कुरा सुनाउनु, बाटो छेक्नु, आवागमनमा रोकावट गर्नु पनि दुर्व्यवहार नै हो ।
शारीरिक दुर्व्यवहार: जानीजानी शरीरमा दुखाई हुने गरी, घाउ चोट लाग्ने, अङ्गभङ्ग हुने किसिमले, अति विषाद हुने गरी र मृत्युकै मुखमा पुर्याउने किसिमको बल प्रयोग गर्नु यस कोटीमा पर्दछ । कुनै बस्तुले हिर्काउनु, पिट्नु, थप्पड हान्नु, टोक्नु, चिथोर्नु, चिमोट्नु, निमोठ्नु, मर्काउनु, घच्याट्नु र आगोले पोल्दिनु पनि दुर्व्यवहारै हुन् । हेरालु र पाका मान्छेसँग लिनदिन तथा शरीर छोईने गरी काम गर्नुपर्नेले थुत्ने वा हुर्याउने गर्दा पनि यस्तो दुर्व्यवहार हुन सक्छ । घमन्डले चुर भएर उद्दण्ड भई पाका मान्छेप्रति कुनै पनि शारीरिक घात गर्नु यस श्रेणीमा पर्दछ ।
आर्थिक दुर्व्यवहार: पाका मान्छेका चल अचल श्रीसम्पत्ति गैर कानुनी ढङ्गले उहाँहरूको इच्छा विपरीत हस्तान्तरण, उपभोग र अनुचित प्रयोग घरका मान्छे, नातेदार र हेरालुले गर्नु पनि दुर्व्यवहार हो । पैतृक सम्पत्तिको कारोबार, गरिन लागेको प्रक्रियाको समग्र र उपयुक्त जानकारी नदिई गरिनु पनि यसै श्रेणीमा पर्दछ । पाका मान्छे शारीरिक रूपले सक्षम नभएर अभिभावकत्व ग्रहण गरेकाले समेत सकिने जति प्रस्ट नपारी लुकाई छिपाई वा ढाँटेर सम्पत्तिमाथि अनधिकृत भोग चलन र उपयोग गर्नु दुर्व्यवहार नै हो । ‘तपाईँहरूको शेखपछि खाने मै हुँ’ भनी गरिने धम्कीपूर्ण जबरजस्ती प्रयोग पनि यसै अन्तरगत पर्दछ ।
यौनिक दुर्व्यवहार पाका मान्छेका शरीर र संवेदनशील अङ्ग जथाभाबी छोएर वा नछोए पनि इशारा गरेर दुःख दिनु दुर्व्यवहार नै हो । उनीहरूलाई लक्षित गरी अश्लील कुरा भन्नु, इङ्गित गर्नु, जिस्क्याउनु पनि यसै श्रेणीमा पर्दछ । शारीरिक रूपले अक्षम र उजारउजुर गर्न नसक्ने अवस्थाका पाका मान्छेमा त आशय करणी भनेजस्तै टाढैबाट गरिने यस्ता इसारालाई पनि अपराध नै मानिन्छ ।
अन्त्यमा,
आधुनिकताको नाममा पारिवारिक भावनात्मक सम्बन्धमा आएको धमिलोपन, पतित पुँजीवादी बिचारको शासन, उचित विवेकी ज्ञानको बग्रेल्ती अपमान र मानवीय भावना मरणशील भएको छताछुल्ल परिस्थितिमा पाका मान्छे किनारा लागेको देखिन्छ । यसलाई उमेरजन्य अध्ययन, अध्यापन र सामाजिक पूर्नजागरणबाट सच्याउन बेर लाग्दैन । आवश्यकता छ देशभक्तिको जगमा सामाजिक सद्भाव स्थापित गर्ने संस्कार, आदर्श, नीति तथा सचेत प्रयास, एसियाकै कयौँ देशमा पाका मान्छेको हितका साथै मानवीय मूल्य स्थापित समाज सबैको हाइहाइ भएको हामी पनि सिकौँ । अज्ञानता हटाए पछि ज्ञानको सागर यही पृथ्वीमै सशतल छालका साथ मडारिइरहेको हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०, १७:०८