काठमाडौँ । भारत भ्रमणको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ बुँदे सम्झौता हुनु र केही परियोजनाको उद्घाटन हुनु सकारात्मक भएको दाबी गरे पनि उहाँले भारतसँगको सीमा समस्या समाधानका लागि सार्वजनिक गर्नु भएको विकल्पको पक्षविपक्षमा बहस सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको र यसका लागि धेरै मेहनत गर्नुपरेको बताउनुभएको थियो ।
भारत भ्रमणमा यसअघि नेपाल–भारत विज्ञ समूहले तयार पारेको प्रतिवेदन बुझ्ने बारेमा समकक्षी नरेन्द्र मोदीसँग कुरा नउठाएको उहाँले बताउँदै आाउनु भएको छ ।
यो विषय उठाएको भए वातावरण विग्रिने थियो भन्ने प्रधानमन्त्रीको भनाइ छ । नेपालले संविधान संसोधन गरेर कालापानी, लिम्पियाधुरालगायत भूभाग आफ्नो दाबी गरिसकेको छ ।
तर बङ्गलादेश आउजाउ गर्न बाटोसहितको आफ्नो भूभाग भारतले दिए लिम्पियाधुरालगायतका भूभाग छोड्न सकिने कतिपय विज्ञको विचारलाई आधार मानेर यो उपयुक्ति विकल्प हुन सकक्ने र यस बारेमा भारतमा कुरा गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिको विरोध गर्ने भएको छ ।
हिजो बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीसँग जवाफ माग गर्ने निर्णय गरेको प्रमुख सचेतक पदम गिरीले सीआईएनलाई जानकारी दिनुभयो ।
नागरिकता विधेयक र भारतसँगको सीमा समस्या समाधानका लागि प्रधानमन्त्रीले दिएको पछिल्लो अभिव्यक्तिका बारेमा कुरा उठाउने तयारी नेकपा एमालेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०, ०९:१७