काठमाडौँ । अघिल्लो संसद्ले प्रमाणीकरणको लागि पठाएको नागरिका विधेयक नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नु विधि र प्रक्रिया विपरित भएको भन्दै परेको रिटमा सर्वोच्चले आज प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र डा सुरेन्द्र भण्डारीले पेश गरेको रिट निवेदन सर्वोच्चमा अस्ति दर्ता भएको हो ।
राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने क्रममा उदृत गरेका संविधानका प्रावधानहरु विधेयक प्रमाणीकरणसँग सम्बन्धित नभएको, गलत संवैधानिक प्रावधान उद्धृत गरेर संवैधानिक प्रावधानमाथि प्रहार भएको भन्दै रिट निवेदनमा प्रमाणिकरण गरेको विधेयक तत्काल कार्यान्वयन नगर्नु भनी रोक लगाउन माग गरिएको छ ।
सभामुख देवराज घिमिरेले नागरिकता विधेयक प्रमाणीकरणका विषयमा पूर्व सभामुुख र पूर्वमहान्यायाधिवक्ताहरूसँग हिजो छलफल गर्नुभएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा पूर्वसभामुखद्वय तारानाथ रानाभाट र अग्निप्रसाद सापकोटा सहभागी हुनुहुन्थ्यो ।
छलफलमा पूर्वमहान्यायाधिवक्ताहरु अग्नि प्रसाद खरेल, रमेश बडाल, मुक्तिनारायण प्रधान र प्रा. डा. भरतबहादुर कार्कीले नागरिकता विधेयक प्रमाणीकरण बहसको विषय भएको भन्दै न्यायिक निरूपण सर्वोच्च अदालतले गर्ने बताउनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०, ०९:२८