केही दिनदेखि सामाजिक सञ्जालमा भारतबाट अनुदानमा ल्याइने मुर्रा राँगा भैँसीको विषय अति धेरै चर्चामा ल्याइएको छ । यो चर्चा राम्रै हो भन्न सकिन्थ्यो यदि हुनुपर्ने जस्तो चर्चा भएको भए । तर त्यस्तो भन्न सकिइएन किनभने हुनुपर्ने जस्तो भइदिएन ।
नेपाली समाज कति अराजक छ र कृषि पेसालाई कसरी हेर्छ, कति सतहमा पुगेर कस्तो टिप्पणी गर्छ, पढेलेखेका शिक्षित भनाउँदाहरूले सोच कस्तो छ भन्ने कुरा यसले फेरि एक पटक छर्लङ्ग बनाएको छ । यसले सामाजिक सञ्जालमा मच्चाएको तहल्का देख्दा मलाई हामी स्वयम् प्रति टिठ लागिरहेको छ ।
कृषि प्रधान देश नेपालका धेरै नागरिकलाई त्यही भैँसी वा गाई नपाली चुलोमा आगो बाल्न मुस्किल पर्छ । दूध, दही, मोही, घिउलगायत शरीरका लागि आवश्यक र स्वस्थ खानेकुराको आपूर्तिका लागि मात्र होइन भैँसीले धेरै परिवारका बालबालिकाको शिक्षाको गर्जो टारेको छ । धेरै परिवारको चाडबाड मनाएको छ र अन्य घर खर्चको प्रबन्ध गराएको छ । सहरमै बसे पनि र गाई भैँसी नपाले पनि यो वास्तविक अवस्थाबाट शायदै नेपालीहरू अनविज्ञ होलान् । यही देशको नागरिक यही देशमा बसेर खिल्ली उडाउन अल्लि नमिल्ला कि ?
आम मानिस मात्र होइन कतिपय सञ्चारमाध्यम र सञ्चारकर्मीले पनि यो यथार्थलाई नबुझेको पाइयो । उनीहरू नै अलमलमा रहेकाले अरूलाई बुझाउने काम गर्न सकेनन् । त्यसै हुनाले सुरुमा मुर्रा भैँसी भन्ने समाचार आयो । वास्तवमा भारतको अनुदान सहयोगमा मुर्रा जातको राँगा नेपालले ल्याउने हो भनेर सरकारले भनेपछि मात्र यथार्थ बुझियो । अझ यो कुरा त ७ वर्ष अघिदेखि नेपालकै पटक पटकको अनुरोधमा भारतले दिने भएको रहेछ । तर, यो सबै कुरा नबुझी हचुवाकाे भरमा प्रतिकृया आउनु पनि जायज पक्कै होइन ।
मलाई दुःख लाग्यो र मैले कुरा बुझिन पनि कि, कृषि र पशुपालनको विकासका लागि निकै महत्त्वपूर्ण यो कुरालाई अनावश्यक राजनीतिक कुरामा जोडेर सञ्जालभरि हाहा र हीही गरि खिसिटिउरी किन गरिएको होला ?
उन्नत बाली र जातको खेती वा पशुपालन गर्ने, उत्पादन वृद्धि गर्दै कृषिको आधुनिकीकरण गर्ने, कृषिको क्षेत्रमा रोजगारी बढाएर देशलाई आत्मनिर्भर बनाउने कुरा सबै तहका सरकारको प्राथमिकतामा छ होइन र रु यसो हो भने त हामीले कृषि र पशुपालनमा उन्नत जातका बिउ बिजनलाई प्रोत्साहन गर्नुपर्ने होइन र ?
विदेशबाट उन्नत जातका विउ विजन ल्याउने कुरा नयाँ होइन । जस्तो कि राजा महेन्द्रले फ्रान्सबाट अङ्गुर, राजा वीरेन्द्रले चीनबाट हात्तीसुँडे खुर्सानी, जङ्गबहादुरले युरोपबाट होलेष्टिन गाई ल्याउनुभएको हो । यस्ता धेरै प्रजाति विदेशबाट ल्याइएको छ र कतिपय जात नेपालबाट बाहिर पनि लगिएको छ । के यो गलत हो ? भारतबाट आउने १५ वटा मुर्रा जातका राँगाहरूबाट डेढ लाख भैँसीमा नस्ल सुधार गर्ने योजना सरकारको छ । यसले देशमा दूध उत्पादन तीन गुणा बढ्ने अनुमान गरिएको छ । यसले फाइदा नेपाली किसानलाई नै हुनेछ होइन र रु नेपालको कृषि र पशुपालनलाई सधैँ हेलाँ होचो गरिने र अहिले पशु क्षेत्रलाई विभिन्न ट्रोल मार्फत होच्याइनु सर्वथा गलत हो । त्यसको विरोधमा पनि केही लेख्न मन लागेर यो लेख लेखेको हुँ । हाम्रो यस्तो ुब्यहोराु नसुध्रिएसम्म देशको विकास होला भन्ने मलाइ लाग्दैन । हरियाणाको कालो सुन अर्थात् ब्ल्याक गोल्ड अफ हरियाणा भनेर चिनिएको मुर्रा जातका राँगामार्फत नेपालको भैँसी पालन क्षेत्रमा कायापलट गराउन सक्छ । त्यसैले यसको खिसीटिउरी गर्नु नेपाली किसानलाई अपमान गर्नु हो । म बुझ्दिन कि हाम्रो देशमा किसान, खेती, पशुपालन सधैँ किन हेलाँ होचोँमा पर्छ रु किन खिसीटिउरी गरिन्छ ?
ज्ञात होस् कि, भारतबाट आउन लागेका मुर्रा जातका भैँसी नभएर पूर्ण जातीय शुद्धता भएका उन्नत नस्लका राँगा हुन् । नेपाली भैँसीको नस्ल सुधारको लागि ल्याउन लागिएका उच्च गुणयुक्त राँगा ल्याउन लागिएको हो ।
मुर्रा जातको राँगा विश्वको सबैभन्दा महँगो राँगा हो। नेपालमा ल्याइने १५ राँगाबाट वार्षिक डेढ लाख भैँसीमा प्रजनन गरी दुग्ध उत्पादन उल्लेख्य मात्रामा बढाउने लक्ष्यअनुसार भारतबाट यो प्रजातिको राँगा ल्याइएको हो । तर नेपालमा सामाजिक सञ्जाल हेर्दा यसको महत्त्व नै नबुझी अनावश्यक रूपमा गलत ढङ्गले प्रस्तुत गरेको पाइन्छ।
राजनीतिक नेतृत्वको भ्रमणका क्रममा उपहारस्वरूप फूल, पशु, आदि दिने लिने पनि पुरानो अभ्यास नै हो । नेपालले उपहार स्वरूप मित्र राष्ट्रहरूलाई गैँडा, हात्तीलगायत दिने गरेको सबैलाई अवगतै होला । चीनलाई नेपालले गैँडा उपहार दिँदा, हामी जस्तो महाराष्ट्रलाई जाबो एउटा गैँडा दिएर हेपेको भनेर कुनै चिनियाँले विरोध र अपमान महसुस गरेको थाहा भएन। त्यसैले पहिला आफ्नो दरिद्र मानसिकताबाट माथि उठौँ । दुग्ध विकास संस्थानले बिहारबाट पाउडर दूध किन्नु भन्दा उन्नत जातको राँगाबाट राम्रो जातको भैँसीको उत्पादन बढाउनु र प्रशस्त मात्रामा दूध उत्पादन गर्नु नेपालका लागि कयौँ गुणा हितकर छ ।
लेखक श्री नेपाल राष्ट्रिय सामुदायिक मावि करैखोलामा तीन वर्षे पशु विज्ञान तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०, १६:५४