काठमाडाैँ । काभ्रेको पनौतीका कृषि उद्यमी सन्तोषकुमार राउतका धेरै काम छन् । कामको जति चापाचाप हुँदा पनि नछुट्ने अर्को काम छ, त्यो हो रेडियो सुन्नु । अरू काम गर्दै सुन्न सकिने भएकाले रेडियो सुन्नकै लागि उहाँले समय छुटाउनु पर्दैन । बिहान सबेरैबाट राती अबेरसम्म रेडियो सुनिरहने उहाँ रेडियोबाट आउने समाचार, सूचना र सन्देशले आफूलाई व्यवसायमा जोडिरहन उत्प्रेरणा दिएको बताउनुहुन्छ ।
आफूलाई व्यावसायिक किसान भनेर चिनाउन समेत रेडियोको भूमिका महत्त्वपूर्ण रहेको उहाँको अनुभव छ । प्राइम एफएममा सञ्चालन हुने कृषि कार्यक्रममा ३० मिनेटको अन्तरवार्ता प्रसारण हुँदा आफ्नो उद्यम र उत्पादनका बारेमा ग्राहकहरूसम्म धेरै सजिलो भएको उहाँको भनाई छ । यसले उहाँको व्यापार पनि बढायो । यति मात्रै होइन उहाँले पशुहरूमा लाग्ने रोग, बालीमा लागेको रोग, सम्भावित जोखिम र विपद्बारे समेतका सूचना रेडियो मार्फत नै हासिल गर्नु भयो । यसले व्यवसायलाई निरन्तरता दिन हौसला मिल्नुका साथै सम्भावित हानिसमेत कम भएको उहाँको अनुभव छ ।
नेपालको श्रम बजारमा बर्सेनि ५ लाख श्रम शक्ति थपिन्छ । तर, श्रम बजारमा आउने युवा शक्तिको अनुपातमा रोजगारीका अवसर नहुँदा उद्यम, उद्यमी र रोजगारीलाई श्रमिकसँग जोड्न रेडियोले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । इलामको फिकल नगरपालिकाले सुरक्षित आप्रवासन विषयमा स्थानीय रेडियोसँग सहकार्य गरी सूचना सम्प्रेषण गरिरहेको छ । गत ३ बर्सदेखि जिल्लामा रहेका ६ वटा रेडियोमा सुरक्षित आप्रवासनका विषयमा सूचना प्रसारणका लागि सहकार्य गरिरहेको पालिकालाई पनि रेडियोको सूचना प्रभावकारी लागेको छ । ।रेडियोमा सूचना सुनेर सुरक्षित आप्रवासनका विषयमा बुझ्न कार्यालय मै आउने सेवाग्राहीको सङ्ख्या बढिरहेको पालिकाका सामी परियोजनाका रोजगार संयोजक ईश्वरी तामाङ बताउनुहुन्छ । सामाजिक सञ्जालको पहुँच बाहिर रहेका ज्येष्ठ नागरिक, दूर दराजका नागरिक यस्ता सूचनाबाट लाभान्वित हुने गरेको उहाँको बुझाइ । रेडियोको सूचना प्रभावकारी भएकै कारण चालु आर्थिक वर्ष ३० मिनेटको रेडियो कार्यक्रम उत्पादनका लागि रेडियोहरूसँग सम्झौता गर्ने प्रक्रियामा रहेको तामाङ बताउनुहुन्छ ।
वैदेशिक रोजगार विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म साढे ६ लाख जना नेपाली वैदेशिक रोजगारीमा गइसकेका छन् । नेपाल श्रम शक्ति सर्वेक्षण, २०७४ अनुसार नेपालमा ३४ दशमलब २ प्रतिशत जनसङ्ख्या रोजगार छ । रोजगारीको अवस्था प्रदेशगत रूपमा सबैभन्दा बढी बाग्मती प्रदेशमा ४३ दशमलव ८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २४ दशमलव १ प्रतिशत रहेको छ । ६२ दशमलव २ प्रतिशत व्यक्ति अनौपचारिक तथा असङ्गठित क्षेत्रमा दैनिक ज्यालादारी, मजदुरी तथा श्रमिकको रूपमा कार्यरत छन् । उनीहरूलाई रोजगारीसम्म जोड्ने सरकारको योजना लक्षित वर्गसम्म पुर्याउन समेत रेडियोको भूमिका महत्त्वपूर्ण रहेको पाइन्छ ।
रोजगारीका लागि बिदेसिनेको लहर बढिरहेका बेला सिप सिकेर अवसरको खोजी गर्ने मात्र होइन सामुदायिक रेडियोले स्वरोजगार बन्न पनि अभिप्रेरणामूलक सामग्री उत्पादन र प्रसारण गरिरहेका छन् । सामुदायिक रेडियोले स्थानीय स्वादका सूचना मात्र नभएर श्रम र रोजगारीसँग सम्बन्धित जानकारीमूलक सूचना र सन्देश प्रवाह गरिरहेका छन् ।
श्रमलाई रोजगारीसम्म र रोजगारीलाई श्रमिकसँग जोडेर उद्यमको विकास गरी रोजगारी सिर्जना गर्ने बाटोमा सामुदायिक रेडियोहरू सक्रिय छन् । रेडियोले सिप र कामका कुरा अनि अवसर र आम्दानीका कुरालाई महत्त्वका साथ उठाउने गरेका छन् । त्यसैले धनुषाका निजाम अन्सारीलाई श्रम क्षेत्रमा रेडियोको योगदान अतुलनीय लागेको छ । रेडियो आम नागरिकको सहज पहुँचमा रहेकाले रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न पनि विशेष रेडियो अभियान सञ्चालन गर्न सुझाव दिनुहुन्छ । सरकारले यस्ता अभियान सञ्चालन गर्न रेडियोसँगको सहकार्य बढाउनु पर्ने समेत उहाँ देख्नुहुन्छ ।
नेपालमा श्रम र रोजगारीको कुरा गर्दा एकातिर वैदेशिक रोजगारीलाई व्यवस्थित र गुणस्तरीय बनाउनुपर्ने छ भने अर्कोतिर आन्तरिक रोजगारी सिर्जना र स्वरोजगारीका विषयलाई पनि सँगसँगै उठाउनुपर्ने देखिन्छ । त्यसैले स्थानीय सरकारले सिप र उद्यमशीलता विकासमा केन्द्रित भएर सामग्री प्रसारण गर्नुपर्नेमा बर्दियाका रमेश चौधरी जोड दिनुहुन्छ ।
सङ्घीयताको कार्यान्वयनसँगै पालिका धेरै अधिकार र जिम्मेवारीसहित नागरिकको घर आँगनको सरकारका रूपमा क्रियाशील छन् । त्यसैले पनि पालिकाले स्थानीय रेडियोसँग हातेमालो गर्न सके श्रम र रोजगारीका क्षेत्रमा अझ महत्त्वपूर्ण उपलब्धि हासिल हुने विज्ञहरू बताउँछन् ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०, १८:३६