काठमाडौँ । सञ्चारका अन्य साधन नपुगेको समयमै बाजुराको बुढीनन्दा नगरपालिका ८ का गोकर्ण देवकोटाले सरसफाइ सम्बन्धी धेरै ज्ञान पाउनुभयो । र त्यो ज्ञान पुर्याएको थियो एक जोडी ब्याट्रीले बज्ने रेडियोले । स्वास्थ्यसँग सिधै जोडिने सरसफाइको सन्दर्भ कतिपय ठाउँमा कुरीतिका रूपमा पनि जेलिएर रहेको छ ।
यस्ता हानिकारक अभ्यासविरुद्ध सचेतना फैलाउन रेडियोले ठुलो सहयोग गरेको देवकोटा बताउनुहुन्छ । ‘साबुन पानीले हात धुनुपर्छ, महिनावारी भएका महिलालाई भेदभाव गर्नुहुँदैन खानपानमा बन्देज लगाउनुहुँदैन भन्ने कुरा रेडियोले भनेरै त थाहा भएको हो नि’ देवकोटाले भन्नुभयो । राष्ट्रिय जनगणना २०७८ अनुसार ८६ दशमलव ७३ प्रतिशत घरपरिवारमा खानेपानीको सुविधा पुगेको छ भने २३ लाख ४ हजार १५ घरमा खानेपानीको धारा पुगेको छ । बैतडीको सिगास गाउँपालिका ३ को मैनोला, ठूलिसैनी, लगन, हल्कासैनीलगायतका टोलमा दुई वर्ष अघिसम्म खानेपानीको सुविधा थिएन ।
सामुदायिक रेडियोकै कारण यी ठाउँमा खानेपानीको सुविधा पुगेको वडा अध्यक्ष अमर सिंह धामी बताउनुहुन्छ । ‘स्थानीय रेडियो सेभेन स्टार, रेडियो अमरगढी, सुदूर आवाजबाट पत्रकारहरू आइदिनुभयो बारम्बार समाचार भन्दिनुभयो अनि साँच्चै समस्या रहेछ भन्ने लागेछ सरकारलाई’ धामी थप्नुहुन्छ ‘अहिले दुई वर्ष भयो हाम्रो गाउँमा खानेपानी पुगेको यो रेडियोकै कारण त सम्भव भयो ।’ धामीका अनुसार खानेपानीको अभाव भएका ती टोलमा छोरी माग्न जाँदा पानीको दुःख छ भनेर छोरी नै दिँदैन थिए । अहिले यी सबै समस्याको समाधान भएको छ ।
पानीको सुविधा पुगेसँगै पशुपालन, कृषि खेती समेत ती टोलमा हुन थालेका छन् । पानीका मुहानदेखि भान्छासम्म अनि शरीरदेखि शौचालयसम्मको सरसफाइका विषय रेडियोले प्राथमिकताका साथ उठाइरहेका छन् । रेडियोबाट बज्ने खानेपानी र सरसफाइ सम्बन्धी सूचना र जानकारी मूलक कार्यक्रम सुनेका विद्यार्थीलाई पठनपाठन गराउन पनि सजिलो भएको र कतिपय जानकारी आफूले पनि रेडियोबाट पाउने गरेको दोलखाका शिक्षक कवीन्द्र खड्काको अनुभव छ । ‘म रेडियो नेपाल सुन्दै हुर्किए, सानैदेखि रेडियो सुन्न मन पराउने मान्छे हुँ म, जिल्लाका स्थानीय रेडियोबाट अनि तिनै रेडियोले बजाउने रेडियो नेटवर्कबाट प्रसारित सन्देशले गर्दा विद्यार्थीलाई बुझाउन पनि सहज भएको छ ।’ खानेपानी र सरसफाइको विषय सामुदायिक रेडियोहरूको उच्च प्राथमिकताको क्षेत्र हो ।
२०६६ साल जेठ १५ गते खुलेको दक्षिण एसियाकै ठुलो रेडियो नेटवर्क सीआईएनले श्रोताका समस्या र गुनासोको जवाफ खोज्ने काम पनि गरिरहेको छ । जसले गर्दा नागरिकले सामुदायिक रेडियोलाई आफ्नै साथी मान्दै आएका छन् । खानेपानी र सरसफाइको क्षेत्रमा लामो समयदेखि रिपोर्टिङ गर्दै आउनुभएका पत्रकार पी.टी.लोप्चनले आगामी दिनमा सामुदायिक रेडियोले सेवा प्रदायकलाई जिम्मेवार बनाउने गरी सञ्चार सामग्री प्रसारण गर्नुपर्ने बताउनुभयो । देशमा खानेपानी र सरसफाइ प्रदायक संस्थाहरू ४५ हजारभन्दा बढी रहेकाले यिनीहरूलाई जिम्मेवार तुल्याएर उनीहरूले दिने सेवालाई गुणस्तरयुक्त बनाउनु पर्ने बताउनुभयो । ‘खानेपानी र सरसफाइ ऐन २०७९ ले गरेका व्यवस्थाहरूको मात्र पैरवी गर्न सके खानेपानी र सरसफाइ उपभोक्ता सेवा प्रदायक र सरोकारवालालाई सबैलाई लाभ पुग्छ ।’
नेपाललाई २०७६ सालमै खुल्ला दिशामुक्त घोषणा गरिए पनि राष्ट्रिय जनगणना २०७८ अनुसार ३ लाख १ हजार ४ सय ९० घरका सदस्यले अझै खुल्ला स्थानमै दिसा पिसाब गर्छन् । यस्तै, ८ लाखभन्दा बढी नागरिकले इनार, कुवा, खोला खोल्सी, नदी, झरना वा तलाउको अस्वस्थ पानी पिउँदै आएका छन् । खानेपानी र सरसफाइको विषय नागरिकलाई दिनदिनै मात्र होइन छिनछिनै जरुरी पर्दछ । त्यसैले पनि आम नागरिकलाई यो अति महत्त्वपूर्ण विषयको जानकारी रेडियोहरूले दिइरहन जरुरी छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०, १८:४४