काठमाडौँ । देशभरको तापक्रम अझै केही दिन उच्च रहने अनुमान गरिएको छ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेको छ ।
काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमासमेत तापक्रम बढिरहेको र यो क्रम अझै केही दिन चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको तराई भू–भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको छ ।
महाशाखाका अनुसार तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्ष मनसुन भित्रन पनि अझै केही दिन लाग्ने देखिएको छ । त्यसैले देशका तराई भू–भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा अर्थात लू चल्ने सम्भावना रहने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ठाउँको उच्च तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरेको छ ।
हिजो नवलपरासीको दुम्कौलीमा यो वर्षकै उच्च ४३.८ डिग्री सेल्सियस मापन गरिएको थियो । गर्मीको समयमा दिउँसो घर बाहिरको काम नगर्न, पर्याप्त पानी पिउन र आराम गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०, ०८:१९