काठमाडौँ । तराइका भूभागमा तापक्रम तत्काल घट्ने सम्भावना कम देखिएको मौसमविद्ले बताएका छन् । अहिले तत्काल ठूलो पानी पार्ने प्रणाली कतै नदेखिएकाले तापक्रम घट्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका हुन् ।
सीआईएनसँग कुरा गर्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले आउँदो सोमवारदेखि पूर्वी तराइ र पहाडमा बादल लागेर तापक्रम थोरै भएपनि घट्ने अनुमान गरिएको बताउनुभयो । तर मध्ये र पश्चिम तराइमा भने तत्काल बादल लाग्ने वा पानी पर्ने सम्भावना कम भएको उहाँको भनाइ छ । यसले अधिकतम र न्यूनतम तापक्रम नघट्ने भन्दै तातो हावा अर्थात लूबाट बच्न पनि उहाँले आग्रह गर्नुभयो ।
तातो हावा अर्थात लू लाग्ने जोखिम भएकाले सकेसम्म शितलमा बस्न र दिउँसो घरबाट ननिस्कन चिकित्सकले सुझाव दिएका छन् । लू लागेमा मृत्युसमेत हुने जोखिम रहेको भन्दै डा. राजन पाण्डेले आफ्नो ख्याल गर्न सीआईएनमार्फत सुझाव दिनुभयो । उहाँले लू लाग्दा अत्यधिक गर्मी लाग्ने, तातो हुने, रिङ्गटा लाग्ने, बेहोस हुने र मृत्यु समेत हुने भएकाले सकेसम्म बिहान बेलुका परिश्रमको काम नगर्न, शितल ठाउँमा बस्न, चिसो पानी पिउन, नुहाउन, हल्का कपडा लगाउन सुझाव दिनुभयो । सकेसम्म शरीरलाई चिसो बनाएर बस्दा लूको जोखिम कम हुने उहाँको भनाइ छ । हिजो देशका चार स्थानको अधिकतम तापक्रम बढेर नयाँ रेकर्ड बनेको छ ।
यस्तै १४ स्थानको तापक्रम जुन महिनाकै उच्च मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार ओखलढुङ्गा, धरान बजार, कन्याम चिया बगान र दुम्कौलीको अधिकतम तापक्रम अहिलेसम्मकै उच्च विन्दूमा पुगेको हो । यसअघि २०५६ वैशाख १५ गते ३० दशमलव ९ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको ओखलढुङ्गामा जेठ २३ गते अर्थात् गत मङ्गलवार अहिलेसम्म कै उच्च ३१ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी अस्ति बुधवार जेठ २४ गते धरान बजारको अधिकतम तापक्रम ३९ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । धरानमा यसअघि २०६९ चैत ३० गते अधिकतम तापक्रम ३८ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो । यसअघि २०३० जेठ २८ गते २९ डिग्री सेल्सियस मापन भएको कन्यामको अधिकतम तापक्रम यो वर्ष ३० डिग्री पुगेको छ ।
महाशाखाका अनुसार जेठ २० र २२ मा कन्यामको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस मापन गरिएको हो । समुन्द्री सतहबाट एक हजार ५ सय ७० मिटर उचाईमा रहेको इलामको कन्यामलाई चिसो ठाउँको रुपमा लिइन्छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०, ०८:०२