काठमाडौँ । पूर्व अर्थमन्त्री तथा एमाले सांसद एवं विष्णु पौडेलले नीति तथा कार्यक्रम र बजेटबिच तालमेल मिल्न नसकेको आरोप लगाउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा बजेट व्यवस्था नै नगरिएको दाबी गर्नुभयो।
पौडेलले हिउँदमा ३० युनिट र वर्षा याममा ५० युनिटसम्म विजुली निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको बताउनुभयो । यस्तै गेटा कलेजलाई दशरथचन्द मेडिकल विश्वविद्यालय बनाउने नीति तथा कार्यक्रममा राखिए पनि बजेटमा व्यवस्था नगरि स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर उम्किन खोजिएको दाबी गर्नुभयो ।
सांसद पौडेलले भने– ‘यसरी सिद्धान्त र प्राथमिकतासँग, नीति कार्यक्रमसँग बजेट अन्तरसम्बन्ध हुँदैन भने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने धर्म निर्वाह किन गर्नुपर्यो ?’
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०, १४:३०