-अन्जान प्रदिप
यतिखेर -
कङ्क्रिटका
म्याग्नेटिक कणहरू टाँसिएको
मानवताको एक थान स्याण्डग्लास फोक्सो
काउन्ट~डाउनमा छ,
[ - स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स...]
……५
सिमे-भूमेको
माटोले रङ्गिएको
आदिवासी लङ्गोटमा
टाँसिएको छ कालो अलकत्रा..
र त्यही लङ्गोटमाथि
बुल्डोजरमा चढेर आइरहेछ विकाश ।
जुन विकाशले
झन्डा समात्ने हतारमा -
पहिरिनै बिर्सिएको छ लङ्गोट !
[- स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स....]
.....४
कुनै सिरियल किलरले
जथाभाबी छुरा हानेर
भर्खरै फरार भएको
भिक्टिमको ताजा लासजस्तै -
कसले पो
हनहनी तताएर
छातीमा घुसाइदिएछ -
तात्तातो आइ~एस~ओ सर्टिफायड रड !
मधेसको गर्मीको बरफझैँ -
पग्लिँदै छ तेन्जिङ नोर्गेको देश ।
[- स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स....]
....३
चट् चट् चट् काटिँदै छन्
भगीरथका तपस्यारत बुढी औँलाहरू,
र ती औँलाहरू
कुनै डेलिभरीको सामान झैँ
प्याक गरिँदै छन् ठुला-ठुला पोलिथिनहरूमा,
र फ्याँकिँदै छन् सप्तसागरहरूमा..
तिनै औँलाहरूको कुहिगन्ध बोकिरहेको,
- अमेजन अहिले ट्राफिक जाममा छ ।
र
सन बाथ लिँदा लिँदा तिर्खाएको बगर
पिइरहेछ एक नदी सिन्डिकेट कोक !
[- स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स....]
...२
ट्रकका ट्रक लोड गरेर -
कहाँ लगिँदै छन् यी आदिम छाप्राहरू ?
बूढो फिनिक्स सोचिरहेछ-
कहाँबाट आउँदै छ यो
मेरो आवाजलाई पराजित गर्न तम्सिएको
कर्कश चेनसो र हेक्सोको साइरन ?
साँझपख फर्किएको छ-
बिहानै सिकारमा निस्किएको पारुहाङ,
र सतीको विरहमा बौलाएको महादेवझैँ
खोजिरहेछ आफ्नो थातथलो
र बस्तीकी चन्द्रमा जस्ती सुम्निमा..
सुम्निमा,
जसलाई -
हाट लैजान लागिएको दासझैँ,
बलजफती खाँदिएको थियो -
त्यही ट्रकको क्याबिन सिटमा... !
[- स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स....]
..१
परीक्षण ल्याबमा राखिएको
भ्यागुताको मृत शरीरमा झैँ-
रकेट~सिरिन्जहरू रोप्दै छन्
बादलको छाती भरी भरभराउँदो एसिड,
कुनै सौखिन प्लेब्वायले
पर्फ्युमले नुहाएझैँ सर्वाङ्ग शरीर-
सुपर मानवले मास्क लगाएर छर्दै छ,
मोनो अक्साइड र अटो मोबाइल स्प्रे !
र कुनै अभिशप्त यहुदीको काँपिरहेको मुटुझैँ -
ग्यास च्याम्बरभित्र धीमा धड्किँदै छ प्लास्टिक ग्लोब !
[- स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स....]
यो विस्फोटको
अन्तिम घडीमा पनि
म सोचिरहेछु -
पड्कँदै गर्दा यो स्याण्डग्लास फोक्सो,
कतै उछिट्टिएर निस्की पो हाल्छ कि ?
- सञ्जीवनीको बीउ !
(विश्व वातावरण दिवसको अवसरमा अक्षर समूह चितवनले आयोजना गरेको पर्या-कविता वाचनमा प्रस्तुत)
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०, १६:३३