काठमाडौँ । प्यूठानको स्वर्गद्वारी मन्दिर नजिकै कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा दुई परिवारका ६ जना र चालकसहित ८ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशिल थापाले सीआईएनलाई दिएको जानकारीअनुसार दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल, उहाँका छोराहरू १४ वर्षका विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल तथा दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उहाँकी श्रीमती ३० वर्षीय राधा नेपाली र उहाँहरूका छोरा ९ बर्षका आदित शाहको मृत्यु भएको हो ।
यस्तै कार चालक दाङको लमहीका ताराबहादुर कुमालको पनि मृत्यु भएको छ भने एकजनाको सनाखत हुन बाँकी छ।
स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएपनि कसैलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०, १८:०२