-सरला जोशी
प्रिय मानव !
जसरी तिमी बोल्न सक्छौ सबैले सुन्ने गरी
त्यसरी म सबैलाई बोलेर सुनाउन सक्दिन
जसरी तिम्रो आफन्तको बिछोडमा
तिमी तड्पिँदै आँसु बहाउन सक्छौ
त्यसै गरी मेरै अगाडी मेरा प्रियजन माथि
बन्चरो आरी चलाउँदै जरै देखी ढाल्दा
म कति छट्पटाउँछु कति तड्पिँदै
आँसु को सागर बहाउँछु
न त कसैले देख्छन् न कसैले सुन्छन् मेरो विलाप
बस स्वार्थ पूर्तिकै लागि म माथि प्रहार गर्छन्
प्रिय मानव !
म तिम्रै सेवक हुँ
तिमीलाई सजिलो होस् भनेर
तिम्रो फोक्सोमा सास भरिरहन्छु
तिम्रो स्वास्थ्यको खातिर
म हावा भएर सर्सराई रहन्छु
तिम्रो जिन्दगी बचाउन
म नदी भएर बगिरहन्छु
म झरना भएर झरी रहन्छु
तिमी मुस्कुराउने वातावरण तैयार पार्दै
म हिमाल भएर मुस्काई रहन्छु
तिम्रो हिम्मत बढाउन
म पहाड भएर उभिई रहन्छु
तिम्रै खुसीका खातिर
म फूल भएर फक्री रहन्छु
प्रिय मानव !
तिमी सचेत हुँदै सत्कर्ममा लाग्दा
सृष्टि सारा गुञ्जायमान हुँदै
तिमीलाई स्वागत गर्न मन लाग्छ
तिम्रो सानो शरीरबाट विराट दिल
प्रस्तुत गर्दा
देवता ठानी पुज्न मन लाग्छ
तिमी प्रदूषित प्रपञ्चमा भुल्दा
तिम्रो जिन्दगीको बागडोर
माकुरा आफ्नै जालमा परेर जेलिँदै
मृत्युवरण गरे जस्तै हुनेछौ
प्रिय मानव !
म तिम्रो शुभचिन्तक हुँ
तिमी सहज वातावरणमा
बाँचेको हेर्न चाहन्छु
पहिला जे भयो भयो
म भुलिदिन्छु
अब बिश्वस्त हुँदैछु
तिमीले वातावरण प्रदूषित पार्ने छैनौ
प्रिय मानव !
कालो बादलको पर्दा हटाएर
सूर्यको किरण धर्तीमा फिजिईँ रहँदा
तिमी आफूलाई ऐनामा हेर्दा झैँ
मलाई पनि सूर्यको ऐनामा
आफूलाई उभ्याउँदा
तिमी जस्तै सुन्दर
तिमी जस्तै सफा
निश्चल कञ्चन आफ्नो रूप हेर्ने मन छ
म पनि तिमी जस्तै स्वतन्त्र भएर बाँच्न चाहन्छु
धर्तीमा आफ्नो सारा सौन्दर्य पोखेर
युगौँ युगसम्म खुसी साँच्न चाहन्छु
म हरेक पल, हरेक क्षण
तिमीलाई नै साथ दिन चाहन्छु
प्रिय मानव !
मलाई यत्ति थाहा छ
तिमी विनासकारी होईनौँ
तिमीले हाम्रो इज्जत राख्दा
हामी तिमीलाई स्यालुट गर्छौँ !
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०, १९:३६