काठमाडौँ । काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले यसपटक पनि नाटक सप्ताह मनाउने भएको छ । १२ वर्षदेखि नाट्य शिक्षालाई विषयगत रुपमा पठनपाठन गराइरहेको स्कुलमा विद्यार्थीले नाटक मञ्चन पनि गर्दै आइरहेका छन् ।
हरेक वर्ष विभिन्न थिएटर कहिले आफ्नै विद्यालयमा ‘मोबाइल थिएटर’ स्थापना गरेर नाटक सप्ताह मनाउँदै आइरहेको विद्यालयका नाट्य प्रशिक्षक एवम् रङ्गकर्मी टंक चौलागाईंले जानकारी दिनुभयो ।
यो वर्ष कक्षा पाँचदेखि दशसम्मका विद्यार्थीले एघार वटा नाटक मञ्चन गर्दैछन् । यी सबै नाटक रङ्गकर्मी टंक चौलागाईंको लेखन र निर्देशन तथा सुरज मल्ल, सुरज तमु र मन्जु गिरीको निर्देशन सहयोगमा तयार भएका हुन् ।
नाटकहरु जेठ २९ गते सोमबारदेखि जेठ ३२ गते विहीबारसम्म स्टुडियो थिएटर पिङ्गलास्थानमा मञ्चन हुने छन् ।
नाट्य विधालाई विद्यालयले प्राथमिकता दिएको र पाठ्यपुस्तकका साथै नाटक, संगीत, खेलकुद लगायत सवै पक्षको विकास गराउने उद्धेश्यले नाट्य उत्सव लगायत अतिरिक्त क्रियाकलाप गराउँदै आएको विद्यालयका प्रधानाध्यापक सुनिता पौडेलले बताउनुभयो ।
प्रज्ञा कुन्जले हरेक वर्ष एकल बाल नाटक महोत्सव पनि आयोजना गर्दै आइरहेको छ । यो वर्ष पनि यो महोत्सवलाई निरतरता दिइने विद्यालयले जनाएको छ । यस्तै हरेक वर्ष विद्यालयका विद्यार्थी नाट्य महोत्सवमा भाग लिन विभिन्न देशमा गइरहेका छन् ।
नाट्य निर्देशक सहित यो वर्ष १५ जना विद्यार्थी र एकजना शिक्षक फ्रान्समा सहभागी भए । यो विद्यालयका विद्यार्थीहरु पोल्यान्ड, बेलारुस, बंगलादेश, अष्ट्रेलियामा नाट्य उत्सवमा सहभागी भइसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०, ११:२९