रौतहट । गर्मी बढेसँगै रौतहट लगायत तराईको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण दिउँसोको समयमा पैदल हिड्डुल गर्नसमेत समस्या पर्न थालेको छ । असार साउनमा रोपाइका गर्नको लागि राखेका धानका ब्याड सुक्न थालेका छन् ।
सिचाई हुँदै आएको स्थानिय चादी खोला र डुमजोर खोलामा पानी बग्न छाडेको छ । किसानहरूले गाग्रीमा धाराको पानी ओसार्दै बीउ जोगाउने कोसिस गर्दै आएका छन् । रौतहटका स्थानीय बमबहादुर वाइबा विहान, बेलुका घरबाटै ओसारेर बीउमा पानी हाल्ने गरेको बताउनुहुन्छ ।
किसानले हरेक वर्ष हिले धानको ब्याड राख्दै आएका थिए । तर यसपाली भने पानी कै समस्याले सबै किसानले धुले ब्याड राखेका छन् । अर्का किसान मानध्वज लामा पानी नपर्दा धानको बीउ कसरी जोगाउने भन्ने चिन्तामा परेको बताउनुहुन्छ ।
रौतहटको चन्द्रपु्र—८ सन्तपुरमा बागमति सिचाईँ आयोजना छ । तर नहरमा पानी नछोड्दा सबैभन्दा धेरै किसान मर्कामा परेको सन्तपुरका किसानहरु बताउछन् ।
पानी नपर्दा र गर्मी बढ्दा अन्नबालीको उत्पादनमा कमी आउने चिन्तामा किसानहरू छन् । अत्यधिक गर्मीका कारण बजारमा नागरिकको चहलपहल कम भएको छ भने स्वास्थ्य संस्थाहरूमा बिरामीको संख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, असार ४, २०७६, १३:३१