काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा सरकार कुनै पनि प्रकारको सम्झौता नगर्ने बताउनुभएको छ ।
बुधवार बिहान पूर्व शिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता डीआर पौडेलको चौथो स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि दृढतापूर्वक अघि बढिरहेको भन्दै भ्रष्टाचार नियन्त्रणमा कसैसँग कुनै सम्झौता नगर्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो 'कतिपयले सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने आशङ्का गरेको देख्छु तर, प्रस्ट रूपमा भन्छु (सरकार मेरा लागि ठुलो कुरा होइन। ठुलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहीँ सम्झौता हुँदैन, झुकिँदैन ।'
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०, १०:०८