काठमाडाैँ । ललितपुर नखिपोटका विभा थापामगर सुत्केरी भएको २ हप्ता भयो । डाक्टरले सुत्केरी हुने समय असारको पहिलो हप्तालाई दिए पनि रक्तचाप बढेपछि निर्धारित समयभन्दा पहिल्यै शल्यक्रियामार्फत शिशु निकाल्नुपर्यो । शल्यक्रियापछि विभाको शरीरमा रगत कम भयो । डाक्टरले सेतो र ताजा गरी १३ पिन्ट रगत आवश्यक पर्ने बताए पछि विभाका श्रीमान् सीताराम दर्लामी रगत जुटाउन लाग्नुभयो । रगत जुटाउने क्रममा निकै सकस भएको सीताराम बताउनुहुन्छ । ब्लड बैंक र अस्पतालहरूमा पनि खोज्दा नपाए पछि साथीहरूमार्फत रक्तदाता खाेजेर रगत जुटाएको उहाँ बताउनुहुन्छ ।
सामान्य अवस्थामा देशभर दैनिक ८ सय पिन्ट र काठमाडौँ उपत्यकामा मात्रै साढे ३ सयदेखि ४ सय पिन्ट रगत आवश्यक पर्छ । यस हिसाबले बर्सेनि ४ लाख पिन्ट रगत चाहिन्छ । रक्तदान नियमित भएको समयमा यो माग पूरा हुने भए पनि रक्तदान कम भएको बेला भने बिरामीका आफन्तलाई समस्या हुने गरेको छ । नियमित रूपमा रगत तथा प्लाज्मा दान गर्न प्रोत्साहन गर्ने गरिएको छ । रगत दान गर्न प्रोत्साहन गर्ने गरिए पनि पर्याप्त मात्रामा सङ्कलन हुन सकेको छैन । रगत अभावमा बिरामी र आफन्तलाई भने सास्ती हुने गरेको छ ।
केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक डा. प्रकाशकुमार यादव व्यक्तिगत रक्तदातालाई बोलाएर पनि सहज बनाउने कोसिस गरे पनि वर्षका केही महिनामा सँधै रगतको अभाव हुने गरेको बताउनुहुन्छ । रक्तदानको वातावरण बनाउन विभिन्न प्रयत्न गरिरहे पनि नियमित रक्तदान नहुँदा यस्तो अभाव हुने गरेको यादवको भनाइ छ ।
रक्तदानका लागि रेडक्रसका साथै विभिन्न सङ्घ संस्था र नागरिक स्तरमा पनि कार्यक्रम हुने गरेका छन् । रगतको अभाव नहोस् भन्नका लागि आफुहरुले बेला बेला रक्तदान गर्ने गरेको ललितपुर ठैबका प्रतिभा सुनुवार र तिखेदेवलका हरिहर केसी बताउनुहुन्छ । तर उहाँहरूजस्ता जानकार र रक्तदानका लागि तयार व्यक्ति पाउन नसक्दा समस्या भइरहेको हो ।
विश्व स्वास्थ्य सङ्गठनका देशमा रगतको आवश्यकता पूरा गर्न कुल जनसङ्ख्याको न्यूनतम एक प्रतिशतले रक्तदान गर्नुपर्छ । विगतको तुलनामा रक्तदान गर्ने क्रम बढे पनि अझै पर्याप्त भइसकेको छैन । रक्तदान गर्दा अरूको जीवन जोगिनुका साथै व्यक्ति स्वयम्लाई पनि फाइदा पुग्ने जनरल फिजिसियन डा. प्रकाश दङ्गाल बताउनुहुन्छ । रक्तदाताको रगत पनि परीक्षण गरिने भएकाले विभिन्न रोगको सङ्क्रमण भए नभएको पनि थाहा हुने उहाँको भनाइ छ ।
डाक्टरहरूका अनुसार एक जनाले दिएको रगतले ३ जनासम्मको जीवन बचाउन सकिन्छ । यस्तै १८ देखि ६० वर्षसम्म उमेर र ४५ किलोभन्दा बढी तौल भएका व्यक्तिले रगत दान गर्न सक्छन् । तर शरीरमा पहिलेदेखि नै कुनै रोग भएका व्यक्तिले रगत दान गर्न मिल्दैन ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०, ११:१६