धनकुटा । सामुदायिक रेडियो व्यवस्थापन एवं क्षमता अभिवृद्धि कार्यक्रम धनकुटाको भेडेटारमा सम्पन्न भएको छ ।
जेठ २९ देखि ३१ गतेसम्म आयोजित कार्यक्रममा कोसी प्रदेशका सामुदायिक रेडियोका व्यवस्थापकहरूको सहभागिता थियो । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, सामुदायिक रेडियो प्रसारक संघ कोसी प्रदेश समिति र कोसी प्रदेशको आर्थिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा भएको कार्यक्रममा सामुदायिक रेडियोको व्यवस्थापन, बजारीकरण, जनशक्ति व्यवस्थापन, नयाँ प्रविधि र पद्धतिको प्रयोग तथा रेडियोमा समुदायको सहभागिता वृद्धि लगायतका विषयमा छलफल गरिएको थियो ।
सामुदायिक रेडियो प्रसारक संघ कोसी प्रदेशका अध्यक्ष विदुर खवासले कार्यक्रमले सामुदायिक रेडियोलाई कसरी दिगो रुपमा अगाडि बढाउने भन्नेबारेमा रेडियो प्रसारकको क्षमता र मनोबल बढाएको विश्वास व्यक्त गर्नुभयो । सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष वन्दना दनुवारले सामुदायिक रेडियो अभियानसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमलाई सामुदायिक रेडियो प्रसारक संघ कोसी प्रदेशका सचिव पूर्णप्रसाद न्यौपाने, सीआईएनका व्यवस्थापक दीपक आचार्यलगायतले सहजीकरण गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०, १०:१२