काठमाडाैँ । सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त हुनुभएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठतम् सचिव अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सचिवको पाँच वर्षे कार्यकाल आउँदो असार ३ गते सकिन लागेका अर्याललाई सरकारले मुख्य सचिव नियुक्त गरेको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ। त्यसअघि वर्तमान मुख्य सचिव शंकरदास बैरागीले राजिनामा दिनुभएको थियो ।
बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेकाे छ । उहाँकाे कार्यकाल आगामी असोज मसान्तसम्म बाँकी थियो ।
अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुनुहुन्छ । उहाँले यसअघि अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधिलगायत मन्त्रालयमा सचिवको जिम्मेवारी निर्वाह गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०, १०:३५