ललितपुर । अपाङ्गता भएका व्यक्तिको न्यायिक पहुँच हुन नसकेको सरोकारवालाले बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धि राष्ट्रिय संवादका सहभागीले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन तथा स्थानीय तहमा भएका अपाङ्गता समन्वय समिति र अन्य नीतिगत विषय व्यवहारमा लागू हुन नसकेको बताएका हुन् ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता भएका व्यक्तिको हक अधिकारलाई व्यवहारिक कार्यान्वयन गर्न सरकार प्रतिवद्ध भएको र अपुग कानुन बनाउँदै र भएका कानुनलाई परिमार्जन गर्दैै अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष टेकराज भट्टराईले नीति निर्माणमा अपाङ्गता भएका व्यक्तिको सहभागिता अझै बढ्न नसकेको भन्दै यसका लागि सबैले आवाज उठाउनुपर्ने बताउनुभयो ।
नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टीका दाहालले संघीयता पछि अपाङ्गताको विषय ओझेलमा परेको दाबी बताउनुभयो ।
नेपाल सरकार, युरोपियन युनियन, नर्वेली दूतावास तथा सरोकारवाला निकायको सहकार्यमा युनिसेफले आयोजना गरेको संवाद कार्यक्रममा विभिन्न बिषयमा अन्तरक्रिया भएको थियो।
कार्यक्रमले अपाङ्गता झएका व्यक्तिको एजेन्डालाई विकास कार्यक्रम र नीति निर्माणका लागि महत्व दिन आव्हान गरेको युनिसेफले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा २ दशमलब २ प्रतिशत नागरिक अपाङ्गता भएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०, ११:४६