विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला मन्त्रालय समेत रहनुभएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार आर्थिक मामिला मन्त्रालयको सभा हलमा बजेट भाषण वाचन गर्नुभएको हो ।
पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको बजेटमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख र वित्तीय व्यवस्थाका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यसै गरी बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट ७३ करोड, विशेष अनुदानबाट ७६ करोड गरी ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार रुपैयाँ जुटाइने मुख्य मन्त्री कार्कीले बताउनुभयो ।
बाँकी रकम चालु आर्थिक वर्षको नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रुपैयाँ जुटाइने बजेटमा उल्लेख गरिएको छ ।
बजेटमा प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड र समानुपातिकबाट प्रदेश सभा सदस्य भएकालाई जनही १ करोड रुपैयाँको योजना छनोट गर्न पाउने छन् । यसका लागि प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रममार्फत १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी योजनाका लागि चार करोड रुपैयाँ विनियोजन गरेको छ ।
सरकार अल्पमतमा परे पनि मुख्मन्त्री कार्कीले हिजो संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्दै आज अध्यादेशबाट बजेट ल्याउनुभएको हो । प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउने संवैधानिक ब्यवस्था छ । मुख्यमन्त्री कार्कीले त्यसको एक दिन अघि नै बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०, १८:४५