काठमाडाैँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका ४ स्थित महोइमाङ टोलका दुई जनाको झाडापखालाबाट मृत्यु भएको छ ।
काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ११ वर्षका सुनिता तामाङ र ५ वर्षका आइसानी तामाङको बुधबार साँझ मृत्यु भएको दुप्चेश्वर गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य शाखा संयोजक वासुदेब श्रेष्ठले जानकारी दिनुभयाे । उहाँका अनुसार चार दिनअघि १० जनामा एकैसाथ झाडापखाला देखिएकोमा अवस्था गम्भिर भएका सुनिता र आईसानीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो । बाँकीलाई भने गाउँमै उपचार गरेर ठिक भएकाे छ ।
आज थप पाँच जनामा झाडापखाला देखिएको उहाँले बताउनुभयाे । झाडापखाला फैलनुको कारण पत्ता लागि नसकेको र झाडापखाला थप फैलिन नदिन डाक्टर परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । सरुवा रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीले फोहोर र बासी खानेकुरा नखाने, पानी उमालेर मात्र खानेजस्ता सावधानी अपनाउन सुझाव दिनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०, १९:४३