ताप्लेजुङ । ताप्लेजुङमा मनसुन भित्रिएसँगै आएको बाढीले मोटरेबल पुलसहित विद्युतगृह र होटल बगाएको छ । गत बुधबार बेलुकीदेखिको अविरल वर्षासँगै आएको बाढीका कारण बस्तीसमेत जोखिममा परेका छन् ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको खेवाङ र सिदिङ्वा गाउँपालिकाको सुरुम्खिम जोडने बाँकेटारमा रहेको तावाखोला पुल बगाएको सिरिजङ्घा गाउँपालिकाका सूचना प्रविधि अधिकृत मनोज उप्रेतीले जानकारी दिनुभयो ।
सो पूल गत महिना मात्रै उद्घाटन गरिएको थियो ।
सोही गाउँपालिकाको वडा नम्बर ८ याम्फुदिनमा पनि तुम्याखोला जलविद्युत आयोजनाको विद्युतगृहको उपकरण वगाएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी राजन लिम्बूले जानकारी दिनुभयो ।
स्थानीय नविन राईको भर्खरै निर्माण गरिएको कटेज, टीकाराम गुरुङको कुखुरा फर्म बगाएको बताइएको छ ।
काबेली हाईड्रो पावरको क्रसर समेत बाढीले बगाएको छ । वर्षा जारी रहेकाले काबेली खोला नजिकैको थुङ्गिम बस्तिसमेत जोखिममा परेको स्थानीय ज्ञानु राईको भनाइ छ ।
वर्षाले बाटो अवरुद्ध हुँदा सिदिङवा गाउँपालिका–१ सुरुमखिमका विद्यालय बिहीबार बन्द गरिएको थियो । बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालय प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो ।
हिजो दिउँसोसम्म पनि त्यस क्षेत्रमा एकदेखि अर्को ठाउँमा जान कठिन भएको सिदिङवा–१ का वडासदस्य राजकुमार इम्वुङकाले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष मानबहादुर राई सडक अवरुद्ध र खोला बढेपछि झापाको विर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने दुईवटा यात्रुवाहक जिप रोकिएको बताउनुहुन्छ ।
सिदिङवा र सिरिङ्घा गाउँपालिकामा गत वर्षको बाढीपहिरोले मानवीय तथा भौतिक क्षति गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०, १२:०४