काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कुनै पनि बहानामा विद्यालय बन्द गर्न खोज्नेलाई कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
आज सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै उहाँले देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचारप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
काठमाडौँ महानगरपालिकाभित्रका सबै विद्लाय नियमित सञ्चालन गर्न निर्देशन दिँदै महानगर प्रमुख शाहले विद्यालय बन्दमा संलग्न हुने शिक्षक, विद्यालय व्यवस्थापन समिति जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिनु भएको छ । सामाजिक सञ्जालमा मेयर शाहले लेख्नु भएको छ, " काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने कुनै संस्था वा कर्मचारीहरूलाई निम्न अनुसार कारवाही हुनेछ।"
१) शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ।
२) विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ।
३) कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ।
४) काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिनेछ ।
प्रकाशित मिति: शनिबार, असार २, २०८०, १७:१२