ताप्लेजुङ । ताप्लेजुङमा बाढी पहिरोमा परी ४ जना बेपत्ता भएका छन् ।
गएराति बाढी पहिरो जाँदा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा न ६ मेहेलेमा एकै घरका तीन जना र अर्का एक जना बेपत्ता भएका हुन् ।
मेहेलेको भालुुखोपमा गएको पहिरोमा परी स्थानीय यादव बुढाक्षेत्रीको श्रीमती भगिमाया बुढाक्षेत्री, बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्वल बुढाक्षेत्री बेपत्ता भएको स्थानीयवासी कमल कडरियाले जानकारी दिनुभयो ।
यादव भने सिरिजङ्गा गाउँपालिकाको पेदाङ जानु भएको थियो । भालुखोपकै पहिरोमा परी स्थानीय गणेश तामाङ बेपत्ता हुनु भएको छ ।
बुवाआमालाई सुरक्षित स्थानमा राख्ने क्रममा तामाङ भने बेपत्ता हुनु भएको हो ।
बेपत्ता भएकाको खोजी तथा उद्धारका लागि जनशक्ति परिचालन गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । अहिले पनि अविरल वर्षा भईरहेकाले उद्धारमा भने समस्या भइरहेको छ ।
सिदिङ्वा गाउँपालिका वडा नं ३ आङ्खोपमा ३ वटा घर पहिरोले बगाएको छ ।
सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राईकाअनुसार आङ्खोपमा प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको छ ।
घरका मानिसहरू भने भागेर बाँच्न सफल भएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिनुभयो । तमोरनदी र मैवाखोलामा बढेको पानीको बहावले नदी तटिय क्षेत्र दोभान बजार जोखिममा परेको छ ।
दोभान वारिपारि हुने मोटरेवल पुल नजिक गएको पहिरोले सडक अवरुद्ध गरेपछि आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकातर्फ जाने सडकको सम्पर्क विच्छेद भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूले जानकारी दिनुभयो ।
सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकस्थित बाघथलामा घरलाई बीचमा पारी गएको पहिरोले बाधथलादेखि गाउँपालिकाको कार्यालयतर्फको क्षेत्रसमेतको सम्पर्क विच्छेद भएको स्थानीय इन्द्र घतानीले बताउनुभयो ।
मेची राजमार्गअन्र्तगत पाँचथरको हेवाखोलामा रहेको मोटरेवल पूल बगाउँदा ताप्लेजुङ जिल्लाको तराईका जिल्लासँगको सडक सम्पर्क अवरुद्ध भएको छ ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०, ०९:११