संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संखुवासभाको बाढीबाट प्रभावीत क्षेत्रको अवलोकन गर्नुभएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाको तुम्लीङटार विमानस्थलमा ओर्लिएका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरागर्दै पूर्वी पहाडी जिल्ला संखुवासभा, ताप्लेजुङ र पाँचथरमा बाढीपहिरोका कारण धेरै धनजनको क्षति पुगेकाले यस क्षेत्रको विकासका लागि सरकारले चाँडै विशेष सहयोग कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले बाढीपहिरोबाट पुलपुलेसा र सडक सञ्जालमा क्षति पुगेकाले सम्पर्क सञ्जाल जोड्न बेलीब्रिज निर्माणको काम तत्कालै सुरु गरी जनजिवन सहज बनाउन र्भाैतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई निर्देशन दिनुभयो ।
स्थलगत अनुगमन टोलीमा प्रधानमन्त्री प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकास मन्त्री सीता गुरुङ्ग, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, पूर्व मन्त्री योगेश भट्टराई, पूर्व राज्यमन्त्री दीपक खड्कालगायतको सहभागिता रहेको थियो ।
पूर्वराज्यमन्त्री तथा सांसद दीपक खड्काले संकटकालीन अवस्थाको अवलोकनका लागि प्रधानमन्त्रीलगायतको टोली नै स्थलगत अनुगमनमा आएकाले पीडित नागरिकले सरकार भएको अनुभूत गर्न पाउनेमा आफू आशावादी रहेको धारणा राख्नुभयो ।
गत शनिवार राति लगातारको वर्षातका कारण संखुवासभामा २ जनाको मृत्यु हुनुका साथै २० जना सम्पर्कविहीन छन् ।
१८ वटा घर, ८ वटा हाईड्रो पावर, ८ वटा गोठ, ४ वटा स्काभेटर, ४ ट्रिपर, एक वटा क्रेन, २ वटा मोटरेवल पुलसहित दर्जनभन्दा धेरै यातायातका साधन र संरचनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८०, १७:०५