बझाङ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी बझाङमा दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी अमृता र भाउजु जयदेवी सिंह रहेको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले बताउनुभयो ।
उहाँका अनुसार दुवै जनाको केदारस्युँ गाउँपालिकास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।
मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको जिप डडेल्धुराबाट चैनपुर आउने क्रममा आज दिउँसो १:३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते मन्त्री पृथ्वीबहादुर सिंह,चालक धर्मराज जोशी र मन्त्रीका पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।
सडकबाट अन्दाजी ५० मिटर तल कालङ्गा खोला किनारमा गाडी खसेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०, १६:४१